काठमाडाैं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पाेखरेलले एमालेलाई सिध्याउने याेजना असफल भएकाे बताउनु भएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठकमा सरकारकाे नीति तथा कार्यक्रममाथिकाे छलफलमाथि भाग लिँदै पाेखरेललले स्थानीय तह चुनावमार्फत एमालेलाई सिध्याउने सत्ता गठबन्धनकाे याेजना असफल भएकाे बताउनुभयाे । अनेक घेराबन्दीबीच पनि जनताकाे लाेकप्रिय मत प्राप्त गर्न एमाले सफल भएकाे भन्दै उहाँले जनतमका हिसाबले एमाले पहिलाे भएकाे बताउनुभयाे ।
सदनमा विचाराधीन नागरिकता विधेयकलाई सेन्सेटिभ इस्यु बनाएर आफ्नाे पक्षमा मार्केटिङ गर्न खाेजिएकाे उहाँले बताउनुभयाे । यसलाई सहमतिका आधारमा चाँडै अगाडि बढाउनुपर्ने वरिष्ठ उपाध्यक्ष पाेखरेलकाे भनाइ छ । केपी ओली नेतृत्वकाे एमाले सरकारले नागरिकता विधेयक अगाडि बढाउन खाेज्दा राेक्नेहरुले अहिले अनावश्यक भ्रम फैलाइरहेका उहाँले बताउनुभयाे ।
'केपी ओली नेतृत्वकाे अघिल्लाे सरकारले नागरिकता समस्यालाई समाधान गर्ने उद्देश्यले ल्याएकाे नागरिकता अध्यादेशलाई किन अघि बढ्न दिइएन ? संसदीय समितिमा पनि कसका कारणले यसलाई अघि बढ्न दिइएकाे छैन ? मैले नाम लिइरहनुपर्दैन,हामी सबै जानकार छाैं, निर्वाचनलाई प्रभावित पार्ने हिसाबले कतै नक्कली हिसाबले त ल्याइँदै छैन ? म प्रश्न गर्न चाहान्छु'- माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै उहाँले भन्नुभयाे ।
सेटिङका अनावश्यक मान्छे राख्न नीति तथा कार्यक्रममा अनेक संरचना खडा गर्न खाेजिएकाे उहाँले बताउनुभयाे । अमेरिकी उपविदेशमन्त्रीलाई ललितपुरस्थित तिब्बती शरणार्थी शिविरमा जान अनुमति दिइएकाे विषयमा उहाँले कडा आपत्ति जनाउनुभयाे ।
के नेपालले आफूलाई एक चीन नीति विपरित आफूलाई अगाडि बढाएकाे हाे ? भन्ने प्रश्न पाेखरेलले उठाउनुभयाे । बीआरआईबारे नीति तथा कार्यक्रम माैन रहेकाे भन्दै उहाँले असन्तुष्टि जनाउनुभयाे ।
भारत भ्रमणका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले लिपुलेक हाम्राे जमिन हाे फिर्ता लिनुपर्छ भनेर एकशब्द बाेल्न नसक्नु लज्जाजनक भएकाे पनि पाेखरेलले बताउनुभयाे ।
