काठमाडौं । नेपाली कांग्रेसका सांसद् डा. मिनेन्द्र रिजालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै प्रेरणाले आफूले ५० लाख रुपैयाँ दान दिन लागेकाे बताउनुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभाकाे दाेस्राे बैठकमा सरकारकाे नीति तथा कार्यक्रममाथिकाे छलफलमा भाग लिँदै सांसद् रिजालले त्यसाे भन्नुभएकाे हाे । बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै एमाले अध्यक्ष ओलीले आफू र श्रीमतीकाे नाममा रहेकाे चलअचल सम्पत्ति राज्यकाे नाममा गरिदिइसकेकाे भन्दै अरुलाई पनि दान गर्न चुनाैती दिनुभएकाे थियाे ।
त्यसकाे जवाफमा सांसद् रिजालले आफूले पनि ५० लाख रुपैयाँ दान दिन लागेकाे सुनाउनुभयाे । 'उहाँले (ओलीले) सम्पत्ति दान गरेकाे कुरा गर्नुभयाे, पूण्यश्री प्रतिष्ठानकाे नाममा ५० लाख रुपैयाँ दिने निर्णय गरेकाे छु, प्रक्रिया मिलाउनुछ, तपाईंकाे र मेराे निर्वाचन क्षेत्र खाेलाले छुट्याउँछु, मलाई लाग्याे मेराे निर्वाचन क्षेत्रका बालबालिका र समुदायलाई दिऔं, त्यहाँ खुल्न लागेकाे बालबालिकाकाे अस्पताललाई दिए राम्रै हुन्छ जस्ताे लाग्याे, सायद दमककै अस्पताललाई दिन्छ हाेला प्रतिष्ठानले, त्यति त तपाईंकै प्रेरणाले गरेँ भनेपनि हुन्छ मेराे क्षेत्रका जनता लाभान्वित हुन्छन् भनेर'-रिजालकाे भनाइ छ ।
आफूहरूसँग कुण्ठा नपोख्न एमाले अध्यक्ष ओलीलाई रिजालले सुझाव दिनुभयाे । कुण्ठाबाट नभइ हातेमालाे गरेर अगाडि बढ्न ओलीलाई आग्रह गर्दै रिजालले भन्नुभयाे - 'आफ्ना पुराना साथीप्रति पनि कुण्डा नराख्न ओलीलाई रिजालकाे सुझाव छ ।'
एमाले अध्यक्ष ओलीले ईपीजी प्रतिवेदन बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएकाे विषयमा पनि सांसद् रिजालले टिप्पणी गर्नुभयाे । 'आफ्नै पालामा ईपीजी प्रतिवेदन तयार भएकाे भुल्नुभएहाेला उहाँले'-रिजालले भन्नुभयाे ।
आफ्नै गृहमन्त्री हुँदा नागरिकता विधेयक अगाडि बढाउन किन नसकेकाे भन्ने प्रश्न पनि रिजालले ओलीलाई गर्नुभयाे । अहिलेका गृहमन्त्री बालकृष्ण खाँडलाई नागरिकता विधेयक चाँडै अगाडि बढाउन सांसद् रिजालले आग्रह गर्नुभयाे ।
