काठमाडाैं । नेकपा माओवादी केन्द्रकी सांसद् ओनसरी घर्तीले देशकाे विकासका लागि सत्तापक्ष र प्रतिपक्षले हातेमालाे गरेर अगाडि बढ्नुपर्ने बताउनुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभाकाे दाेस्राे बैठकमा नीति तथा कार्यक्रममाथिकाे छलफलमा बाेल्दै पूर्व सभामुख घर्तीले भन्नुभयाे - 'संघीय लाेकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै आर्थिक समृद्धिकाे बाटाेमा अगाडि बढन सत्तापक्ष र प्रतिपक्षले हातेमालाे गरेर अगाडि बढ्ने संस्कारकाे विकास गराैं, देश हाम्रै पालामा बन्छ ।'
सांसद् घर्तीले सदनलाई कुण्ठा र आक्राेश व्यक्त गर्ने थलाे बनाइएकाे पनि बताउनुभयाे । 'संसद् भनेको आम जनताको भावना अभिव्यक्त गर्ने थलो हो, जनताको सार्वभौम सत्ताको उच्चतम् प्रयोग आफ्ना प्रतिनिधिमार्फत् अभिव्यक्त हुने गर्दछ, तर केही दिन यता संसद्मा भइरहेको नीति तथा कार्यक्रममाथिको छलफलको रूझान हेर्दा एकातिर कुण्ठा र आक्रोश अभिव्यक्त भइरहेको छ भने अर्कातिर मूल विषयबाट विषयान्तर हुने प्रवृति देखिएको छ'-घर्तीकाे भनाइ छ ।
नीति तथा कार्यक्रमले आधारभूत रूपमा सही विषय समेटेको घर्तीले बताउनुभयाे । कोभिड-१९ का कारण प्रभावित अर्थतन्त्रको पुनरूत्थान, शोधानान्तर घाटालाई न्यूनीकरण, मूल्यवृद्धि नियन्त्रण तथा कृषि, उद्योग र ऊर्जा क्षेत्रमा उत्पादन वृद्धि एवं पर्यटन प्रवर्द्धनको नीति सही रहेपनि कतिपय कुरामा सुधार गर्नुपर्ने देखिएकाे उहाँकाे भनाइ छ ।
सांसद् घर्तीले छाेरीहरुकाे सुरक्षाका लागि गम्भीर बन्न सरकारकाे ध्यानाकर्षण पनि गराउनुभयाे । छाेरीहरुकाे शारीरिक तथा मानसिक सवलीकरणका लागि राज्यले उचित नीति बनाउनुपर्ने घर्तीकाे सुझाव छ । सांसद्हरुबाट आएका सुझावका आधारमा नीति तथा कार्यक्रममा आवश्यक सुधार र परिमार्जन गरेर बजेट आउने विश्वास उहाँले व्यक्त गर्नुभयाे ।
