काठमाडाैं । बलात्कार तथा याैनजन्य मुद्दाकाे उजुरीमा हदम्याद हटाउन माग गर्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता भएको छ ।
नेपाली कांग्रेसकी सांसद् कमला पन्तले शुक्रबार संघीय संसद् सचिवालयमा साे संकल्प प्रस्ताव दर्ता गराउनुभएकाे हाे । सांसद् कमला पन्तको प्रस्तावमा विमला राय पौड्याल, प्रमिलाकुमारी यादव, खिमलाल देवकोटा, बिमला घिमिरे, मदनकुमारी शाह, शेखर कुमार सिंह, गंगा कुमारी बेलबासे र तुलप्रसाद विश्वकर्माले समर्थन गर्नुभएकाे छ ।
हदम्यादका कारण पीडितले न्याय नपाउने र पीडकले सजायबाट उन्मुक्ति पाउने अवस्था देखिएकाले हदम्याद हटाउनुपर्ने संकल्प प्रस्तावमा उल्लेख छ ।
'समाजमा बालबालिकाविरूद्ध यौन हिंसाका घटनाहरू बढिरहेको, डर त्रास, लोभ, लालच वा यस्तै विभिन्न शारीरिक र मानसिक अवस्थाका कारण बालबालिकाले समयमै घटनाको उजुरी दिन नसकेको र उजुरी दिनको लागि सक्षम भइसक्दा उजुरी दिने हदम्यादको कारण पीडितले न्याय नपाउने र पीडकले सजायबाट उन्मुक्ति पाउने अवस्था देखिएकोले बालबालिका संरक्षणसम्बन्धी ऐन २०७५ दफा ७४, उपदफा २ र मुलुकी अपराधसंहिता २०७४ को दफा २१९ उपदफा २ मा रहेको यौन अपराधविरूद्ध उजुरि दिने हदम्यादसम्बन्धी व्यवस्था हटाउनुका साथै दण्ड सजायको व्यवस्था समेत पुनरावलोकन गर्न जरूरी देखिएको छ'-संकल्प प्रस्तावमा लेखिएकाे छ ।
