काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद् राजेन्द्र लिङ्देनले सरकारकाे नीति तथा कार्यक्रम वास्तविक समस्यालाई सम्बाेधन गर्न नसकेकाे बताउनुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभाको दाेस्राे बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै राप्रपा अध्यक्ष समेत रहनुभएका सांसद् लिङ्देनले देशकाे अहिलेकाे प्राथमिकतामा सरकारले ध्यान नदिएकाे बताउनुभयाे । सरकारले ल्याएको नीति तथा कार्यक्रम मन्त्री र सत्तापक्षका सांसद्को चुनावलक्षित कार्यक्रम मात्रै भएको लिङ्देनकाे ठहर छ ।
किसानका समस्या,विद्यार्थीका लागि आवश्यक पाठ्यपुस्तक,देशकाे अर्थतन्त्र र महंगीबारे नीति तथा कार्यक्रम माैन रहेकाे उहाँले बताउनुभयाे । 'पाँचौं पटक प्रधानमन्त्री हुने मौका पाउनुभएका प्रधानमन्त्रीले अहिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नीति तथा कार्यक्रममा आफ्नो जिल्लामा मेडिकल कलेज स्थापना गर्ने ल्याउनुभयो, मन्त्रीजीहरूको जिल्लामा ठूला बाटा बनाउने विषय छन्, देशको नीति कार्यक्रम यही हो ? मेरो गाउँका मानिसहरू वर्षा लाग्यो, खेतीबाली लगाउने बेला भयो, पैसा तिरेर एक बोरा युरियाको मल किन्न पाउँदैनन्,तिनीहरूको बारेमा यो नीति कार्यक्रममा कहाँ छ कुरा ?'-लिङ्देनकाे प्रश्न छ ।
शैक्षिक सत्र सुरु भइसक्दा पनि विद्यार्थीले पाठ्यपुस्तक नपाएको अवस्था रहेकाे भन्दै उहाँले नीति तथा कार्यक्रममा अर्को वर्ष समयमै पाठ्यपुस्तक पाउने नीति नसमेटिनु दुःखद् बताउनुभयाे । 'हाम्रो देशको प्राथमिकता के हो ? हामीले हाम्रो देशको प्राथमिकता यो हो भनेर भन्ने सबैभन्दा माथिको ठाउँ कहाँ हो ? शैक्षिक सत्र सुरु भइसक्यो, पाठ्यपुस्क विद्यालयमा पुगेको छैन, अर्को साल विद्यार्थीहरूले समयमै पाठ्यपुस्तक पाउनेछन् भन्ने सुनिश्चितता के ? त्यतातिर ध्यान गएन, चुनाव आउँदैछ त्यसैले सबैले आफ्नो आफ्नो योजना टिपाइहालौँ भनेर नीति कार्यक्रम बनाएजस्ताे छ'-लिङ्देनले भन्नुभयाे । यस्ताे परम्पराबाट कहिले उम्किने भन्दै उहाँले प्रश्न गर्नुभयाे ।
युवा र जनताकाे स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम पनि नीति तथा कार्यक्रममा नराखिएकाे भन्दै उहाँले आपत्ति जनाउनुभयाे । ठूला दलहरु अहिले जनताबाट टाढा भइसकेकाे बताउनुभयाे ।
