काठमाडाैं । नेकपा एमालेका सांसद् नारदमुनि रानाले सरकारकाे नीति तथा कार्यक्रम खाेक्राे दस्तावेज मात्र रहेकाे बताउनुभएकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभाकाे दाेस्राे बैठकमा सरकारकाे नीति तथा कार्यक्रममाथिकाे छलफलमा भाग लिँदै उहाँले नीति तथा कार्यक्रम शब्दजालहरुकाे पाेकाे मात्र रहेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'नीति कार्यक्रम हाेकी-हाेकी जस्ताे लाग्याे तर पढ्दै जाँदा याे वास्तवमा नीति तथा कार्यक्रम नभएर गठबन्धन सरकारकाे सामूहिक दस्तावेज हाेकी जस्ताे लाग्याे त्याे पनि हाेइन रहेछ, हेर्दै जाँदा याे त खाेक्राे दस्तावेज रहेछ, शब्दजालहरुकाे पाेकाे रहेछ ।'
नीति तथा कार्यक्रममा युवा र युवाकाे राेजगार, किसान र कृषि क्षेत्र, स्वास्थ्य, शिक्षा;सम्बन्धी कुनैपनि ठाेस कार्यक्रममा नराखिएकाे भन्दै उहाँले आपत्ति जनाउनुभयाे । नीति तथा कार्यक्रममा सुदूरपश्चिमलाई बाहेक गर्न खाेजिएकाे बताउँदै उहाँले भन्नुभयाे - 'बुँदा नम्बर ५४ मा पशुपति,जनकपुर र लुम्बिनीलाई धार्मिक पर्यटकीय केन्द्र बनाउने भनिएकाे छ,तर सुदूरपश्चिमकाे खप्तड जाे प्राकृतिक रुपले सुन्दर छ त्याे खप्तड मन्दिर किन अटेन ? के सुदूरपश्चिम प्रदेशबाट प्रधानमन्त्री भइरँदा याे ठाउँलाई बिर्सन मिल्छ र र ? याे मैले हाेइन सारा सुदूरपश्चिमकाे प्रश्न हाे ?'
प्रधानमन्त्रीकाे गृह जिल्ला डढेल्धुरामा मेडिकल कलेज खाेल्ने कुरा नीति तथा कार्यक्रममा राख्दा कैलालीकाे गेटामा बनेकाे गेटा मेडिकल कलेज सञ्चालन गर्ने कुरालाई वेवास्ता गर्न खाेजिएकाे भन्दै उहाँले आपत्ति जनाउनुभयाे । सांसद् रानाले भन्नुभयाे - 'सुदूरपश्चिमबासीकाे सपनामा याे सरकार किन उदासिन छ ? सरकारकाे नीति तथा कार्यक्रम गेटा किन परेन भनेर सुदूरपश्चिमबासीले साेधिरहेका छन्,त्यहाँका भवनले पर्खिरहेका छन्, सरकारकाे बजेट आउँछ र उपचार पाइन्छ भनेर ३० लाख जनता पर्खिरहेका छन्,तर याे दस्तावेज माैन छ ।'
एमालेकाे सरकारले गेटा बनाएकाले नपरेकाे हाे भन्ने प्रश्न गर्दै रानाले भन्नुभयाे - 'शेरबहादुर देउवा जी तपाईं त्यही प्रदेशबाट प्रतिनिधित्व गर्दै हुनुहुन्छ, कुन मुख लिएर सुदूरपश्चिममा पाइला टेक्नुहुन्छ ? तपाईंलाई हामीले सुदूरपश्चिम महाेत्सवमा २१ किलाेकाे माला लगाएका थियाैं,ती फूलहरुले साेधिरहेका छन्,केपी ओलीले गेटा मेडिकलकाे शुभारम्भ गरेकाे कारणले राेक्न खाेजिएकाे हाे ? के कारणले गेटा मेडिकल कलेज सञ्चालन गर्ने कुरा नीति तथा कार्यक्रममा परेन ? याे प्रश्न सुदूरपश्चिमबासीकाे हाे,तपाईं कुन मुख लिएर सुदूरपश्चिममा जानुहुन्छ सम्माननिय प्रधानमन्त्रीज्यू ? '
बनिसकेका रंगराेगन भइसकेका भवनहरुले सरकारकाे बजेटकाे प्रतिक्षा गरिरहँदा सरकार उदासिन भएकाे सांसद् रानाले बताउनुभयाे । धनगढी विमानस्थलमा ओर्लेर त्यही बाटाे भएर डढेल्धुरा जाँदा गेटामा बनेकाे २७ वटा भवन देख्नुहुन्न भन्दै उहाँले देउवालाई प्रश्न गर्नुभयाे । बनिसकेकाे मेडिकल चलाउने त कता हाे कता नयाँ बनाउने कुरा न्यायाेचित नहुने सांसद् रानाकाे भनाइ छ ।
