काठमाडौं । नेपाली कांग्रेसका सांसद् गगन थापाले नेपालको अर्थतन्त्र संकटमा फसिसकेको बताउनुभएको छ । प्रतिनिधि सभा बैठकमा बोल्दै गगनले भन्नुभएको छ– ‘अर्थतन्त्र समस्याग्रस्त मात्र होइन, संकटमा फस्न थालिसकेको छ ।’
नीति तथा कार्यक्रम उपरको छलफलमा बोल्दै गगनले भन्नुभयो– जोखिम आइसक्यो, जोखिमलाई सम्बोधन गर्न सरकारले ध्यान दिनुपर्छ ।
गत १० महिनामा १६ खर्ब रुपैयाँ आयात र एक खर्ब रुपैयाँ निर्यात भएको चिन्तालाग्दो तथ्यांक प्रस्तुत गर्दै उहाँले भन्नुभयो– व्यापार घाटा आउँदो वर्ष अझ भयानक हुनेछ । हाम्रो आम्दानी छैन, खर्च यसरी नै हुँदै जाने हो भने थेग्न सकिँदैन ।
नेपालको आर्थिक परिस्थितिमा व्यापार घाटा सबैभन्दा ठूलो चिन्ताको विषय भएको उहाँले बताउनुभयो । पेट्रोलियम पदार्थमाथिको निर्भरता घटाउने महत्वाकांक्षी सोच राख्नुपर्ने उहाँको विचार छ । ‘देशको सबैभन्दा ठूलो प्राथमिकता पेट्रोलियम पदार्थ उपरको निर्भरता घटाउने हो, यो राष्ट्रिय सुरक्षाको विषय पनि हो’– गगनले भन्नुभयो ।
‘यही तरिकाले अर्थतन्त्र जाने हो भने हामी क्र्याशमा जान्छौं’– गगनले बताउनुभयो ।
