काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बहुभाषिक नीति लागू गर्नुपर्ने बताउनुभएकाे छ ।
शनिबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि धारणा राख्दै उहाँले बहुभाषिक नीति लागू गर्दै एक भन्दा बढी भाषालाई सरकारी कामकाज भाषा तोक्ने र विद्यालयहरुमा पढाउने व्यवस्था गर्नुपर्ने बताउनुभएकाे छ ।
नागरिकता विधेयक तत्काल पारित गर्नुपर्ने बताउनुभयाे । उहाँले भन्नुभयाे- 'जन्मसिद्ध नेपाली आमाबाबुबाट जन्मिएका छोराछोरी पनि गैर नागरिक रहेका छन् । त्यसैले नागरिकता विधेयक तत्काल पारित गरिनुपर्छ ।'
‘राज्यले दायित्व पूरा नगर्दा नागरिकका सन्तान राष्ट्रियताविहीन अवस्थामा अधिकारबाट वञ्चित भएको अवस्था छ’ उहाँले भन्नुभयाे- ‘गल्ती राज्यले गर्ने, त्यसको सजाय नागरिकले भोग्नुपर्ने । यसलाई तत्काल अन्त्य गर्नुपर्छ ।’
उहाँले मधेशमा ५३ प्रतिशत जनसंख्या रहेको र निर्वाचन क्षेत्र पुनर्निर्धारण गरिनुपर्ने माग राख्नु भएकाे छ । 'अघिल्लाे चुनावमा निर्वाचन क्षेत्र तय गर्दा मधेशमा ४६ प्रतिशत जनसंख्या थियाे । अहिले बढेर ५३ प्रतिशत पुगेको छ । त्यसैले फेरि निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्नुपर्छ ।'
