काठमाडौं । गठवन्धन सरकारले जनस्रोत सम्बन्धमा भारतसँग कुनै गोप्य सम्झौता गरेको आशंका झन् बढेको छ । केही समय यता गठवन्धन सरकारको भारतसँग अस्वाभाविक हिमचिम बढिरहेको अवस्थामा कुनै गोप्य सम्झौता गरिएको आशंका गरिँदै आएको थियो ।
नेकपा एमालेका सांसद विष्णुप्रसाद पौडेलले यस सम्बन्धमा प्रतिनिधि सभा बैठकमा कुरा उठाउनुभएको छ ।
गठवन्धन सरकारले ल्याएको नीति तथा कार्यक्रमको बुँदा नम्बर ७७ लाई उदृत गर्दै पौडेलले गम्भीर आशंका गर्नुभएको हो ।
पौडेलले वैठकमा सो बुँदा वाचन गर्नुभएको थियो– ‘नेपाल र भारतद्धारा संयुक्त रुपमा जारी गरिएको उर्जा विकाससम्बन्धी दीर्घकालीन अवधारणा बमोजिम विद्युत उत्पादन, प्रसारण प्रणाली विस्तार, द्धितर्फी विद्युत व्यापार, दुवै देशका राष्ट्रिय प्रसारण लाइनको समन्वयात्मक उपयोग र संस्थागत सहयोगका क्षेत्रमा भएका अवसरको उपयोग गरिन्छ ।’
बुँदा वाचनपछि पौडेलले भन्नुभयो– ‘उक्त दीर्घकालीन अवधारणा के हो ? नेपाल र भारत सरकारले कहिले ? कुनकुन अधिकारीले र कसरी संयुक्त रुपमा जारी गरेका हुन् ?’
पौडेलले भन्नुभयो– ‘सदन यो विषयमा अनभिज्ञ छ । नेपाल र भारतद्धारा संयुक्त रुपमा जारी गरिएको उक्त अवधारणापत्र यस सदनमा प्रस्तुत गरियोस् ।’
उहाँले जोड दिँदै भन्नुभयो– ‘आजै प्रस्तुत गरियोस्, अहिल्यै प्रस्तुत गरियोस् ।’
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला जलस्रोत सहकार्यलाई निकै जोड दिएको देखिएको थियो । नेपालमा ठूलो परिमाणमा विद्युत उत्पादन हुने देखिएपछि सो विद्युत प्राप्त गर्न भारतले प्रयास गर्दै आएको छ ।
