काठमाडौं । प्रतिनिधि सभाको मर्यादा र स्तर नसुहाउँदो पाराले हर्कत गर्दै आज एक सांसद्ले आपत्तिजनक अभिव्यक्ति दिनुभएको छ ।
अनौठो हर्कत र आपत्तिजनक अभिव्यक्ति दिने सांसद् हुनुहुन्छ गजेन्द्रबहादुर महत । उहाँ नेकपा माओवादी केन्द्रका सांसद् हुनुहुन्छ ।
प्रतिपक्षी एमालेले यस अघि प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको स्मरण गर्दै उहाँले अब पनि अवरुद्ध गर्न भन्दै ताला चाबी प्रदर्शन गर्नुभएको हो ।
प्रतिनिधि सभाको पोर्डियमबाट बोल्नुभएका सांसद् महतले खल्तीबाट निकालेर तालाचाबी देखाउनुभएको थियो । सो तालाचाबी सभामुखलाई दिन्छु भन्नुभएको थियो ।
प्रतिनिधि सभा बैठकमा विषयसँग सम्बन्धि दस्तावेज बाहेक कुनै पनि सामग्री प्रदर्शन गर्न पाइँदैन । यो संसदीय मर्यादा विपरित महतले तालाचाबी प्रदर्शन गर्नुभएको हो ।
यस्तो हर्कत गर्ने सांसद्लाई सभामुखले कारवाही गर्न सक्ने व्यवस्था प्रतिनिधि सभा नियमावलीमा रहेको छ ।
प्रतिनिधि सभा जस्तो उच्च मर्यादा पालना गर्नुपर्ने ठाउँमा महतले तालाचाबी मात्र प्रदर्शन गर्नुभएन, अर्का एक सांसद्लाई व्यक्तिगत रुपमा अपमान गर्ने अभिव्यक्ति समेत दिनुभयो ।
महतले वाक्प्रहार गर्नुभएका सांसद् हुनुहुन्छ– केपी शर्मा ओली । प्रमुख प्रतिपक्षी नेता समेत रहनुभएका ओलीलाई सांसद् महतले व्यक्तिगत रुपमै प्रहार गर्नुभएको छ ।
महतले केपी शर्मा ओलीको थरलाई लिएर पनि व्यंग्य प्रहार गर्नुभएको छ ।
महतले भन्नुभयो– ‘दानबीर बलीलाई शब्दकोषबाट सच्याउनुपर्छ । दानबीर बलीलाई अब दानबीर ओली बनाउनुपर्छ ।’
