काठमाडाैं । नेकपा माओवादी केन्द्रका सांसद् पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भीर आराेप लगाउनुभएकाे छ ।
शनिबार बसेकाे प्रतिनिधि सभा बैठकमा सरकारकाे नीति तथा कार्यक्रममाथिकाे छलफलमा बाेल्दै प्रचण्डले एमाले अध्यक्ष ओली मान्छेको टाउको काटेर जेल गएको गम्भीर आरोप लगाउनुभएकाे हाे ।
शान्ति सम्झाैता र शान्ति प्रक्रियापछि पनि ओलीले पुराना कुरा गरेर सदनमा घाेचबेच गर्ने गरेकाे आराेप लगाउँदै प्रचण्डले भन्नुभयाे - 'तपाईंलाई अहिले पनि मान्छेको टाउको काटेर जेल गएको भन्न मिल्छ ? तपाईंहरू टाउको काट्ने मान्छे होइन ? हत्याराको रूपमा जेल बसेको होइन ? भन्यो भने के हुन्छ ? त्यो भन्नु जायज हुन्छ?'
यसअघि पनि सदनमा ओलीले शान्ति प्रक्रियाका बारेमा नमिठाेसँग घाेचपेच गरेकाे र आफूले खण्डन गर्नुपरेकाे प्रचण्डले बताउनुभयाे । बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्ने क्रममा ओलीले फेरि त्यही कुरा निकालेकाे विषयमा आफ्नाे गम्भीर ध्यानाकर्षण भएकाे प्रचण्डले बताउनुभयाे ।
'अस्ती फेरि प्रतिपक्ष दलकाे नेताले नै शान्ति सम्झाैता र शान्ति प्रक्रियालाई अपमान हुने ढंगले उहाँले बाेरामा मान्छे हालेकाे, जनतालाई धम्क्याएकाे कुरा गर्नुभयाे, मैले याे विषय गम्भीर ठानेकाे छु, म सदनकाे ध्यानाकर्षित गर्न चाहान्छु, आज हामी जसरी यहाँ उपस्थित छाैं त्याे शान्ति सम्झाैतामार्फत छाैं,हामी जुन सिस्टममा छाैं त्याे शान्ति प्रक्रिया र संविधानसभा मार्फत् छाैं र हामी सबैले १२ बुँदे समझदारी हुँदै याे एेतिहासिक सम्झाैता भनेकाे हाेइन ?'-प्रचण्डकाे प्रश्न छ ।
शान्ति सम्झौतामार्फत १२ बुँदे समझदारी हुँदा ऐतिहासिक सहमति भएको बताउँदै प्रचण्डले भन्नुभयाे - 'एउटा प्रक्रियामा हामी जान खोज्दैछौँ, फेरि यो कुरा किन ? यस्तो भन्नु विल्कुलै जायज होइन, अहिले परिस्थिति बदलिएकाे छ ।' जनयुद्ध र अन्य आन्दाेलनले नै परिवर्तनमा आएकाे दाबी पनि प्रचण्डले गर्नुभयाे ।
केपी ओलीकै कारण तत्कालीननेकपाकाे दुई तिहाइकाे पार्टी र सरकार ढलेकाे आराेप पनि उहाँले लगाउनुभयाे । संविधान निर्माण भएपछि राजनीतिक स्थायित्व होओस् भनेर वामगठबन्धन हुँदै एउटै कम्युनिष्ट पार्टी बनाउने पहलकदमी लिएपनि सफल हुन नसकिएकाे प्रचण्डले बताउनुभयाे । दुई तिहाइ बहुमतकाे पार्टी र सरकार के कारणले बचाउन सकिएन भन्ने इतिहासले समीक्षा गर्ने प्रचण्डले बताउनुभयाे ।
आफ्नाे सहयाेगमा नै एमाले अध्यक्ष केपी शर्मा ओली २ पटक प्रधानमन्त्री बनेकाे दाबी समेत उहाँले गर्नुभयाे । एमाले अध्यक्ष ओलीले अरुकाे वैशाखी चाहिँदैन भन्न नसुहाउने उहाँकाे दाबी छ । 'यहाँ अस्ती प्रतिपक्षी दलका नेताले भन्नुभयाे हामी कसैकाे वैशाखी टेकेर हिँड्नेमा छैनाैं, मलाई नमिठाे पनि लाग्याे, उहाँकाे र मेराे आँखा जुधेकाे छ, मेराे अगाडि कम्तिमा नभनेकाे भए हुने, जसकाे सहयाेगमा २ पटक प्रधानमन्त्री बन्नुभयाे, त्याे वैशाखी हाे कि सहयाेग ? म पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्छु'-प्रचण्डले भन्नुभयाे ।
ओलीले नेकपा नेतृत्वकाे सरकारलाई पटक-पटक एमालेकाे भनाउन खाेजेकाे आराेप प्रचण्डले लगाउनुभयाे । 'के याे तथ्यसँग मेल खान्छ ? उहाँले हिजाे पाएकाे भाेट एमालेकाे मात्रै हाेइन,त्याे नेकपा माओवादीकाे पनि भाेट हाे, उहाँकाे सरकार पनि एमालेकाे सरकार हाेइन त्याे नेकपाकाे सरकार हाे, तपाईं त्याे भाेटलाई र मतलाई कसरी छुट्याउन सक्नुहुन्छ, अनि याे स्वयम् जालसाझीपूर्ण कुरा भएन र ? याे परिस्थिति कसरी पैदा भयाे र कसले पैदा गर्याे ?'-प्रचण्डकाे प्रश्न छ ।
अहिले पनि केपी ओलीबाहेक एमालेका अरु नेतासँग मिल्न सकिने बताउँदै प्रचण्डले भन्नुभयाे - 'केपी ओलीको अहंकार नहुने हो भने अरु सबै एमालेका नेता-कार्यकर्तासँग मिलेर काम गर्न सकिने देख्छु, तर उहाँको व्यवहारका कारण मिलेर जाने अवस्था बनेको छैन ।'
ओलीले पार्टीभित्र आन्तरिक रुपमा लज्जास्पद हार भएको संश्लेषण गर्ने, अनि संसद्मा आएर सरकार र गठबन्धनले जबरजस्ती गर्यो भनेर गरेको टिप्पणी तर्कसंगत नभएको भन्दै प्रचण्डले पार्टीभित्रकाे अन्तर्घात वा सरकारकाे क्रियाकलाप के कारणले एमाले दाेस्राे बनेकाे हाे भन्ने निर्क्याैल गर्न नसक्नुले नै ओलीकाे हार प्रष्ट भएकाे आराेप लगाउनुभयाे । मतगणना सम्पन्न हुँदै गएपछि सरकारलाई धारे हात लगाउनुको कुनै अर्थ नभएको उनको भनाइ छ ।
स्थानीय तह चुनावमा कुन राजनीतिक दलको सिट कति बढ्यो वा घट्यो भन्ने कुराले केही फरक नपार्ने भन्दै उहाँले मुख्य कुरा संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढ्यो वा बढेन भन्ने विषय नै रहेकाे बताउनुभयाे । संघीय लोकतान्त्रिक गणतन्त्रलाई कार्यान्वयन गर्ने सन्दर्भमा स्थानीय तहको निर्वाचनले संविधान मिच्न चाहने प्रवृत्तिलाई राम्रो जवाफ दिएको प्रचण्डकाे भनाइ छ । स्थानीय तहको निर्वाचन एकै चरणमा नै सफल बनाउन लाग्ने सरकार, राजनीतिक दल, मतदाता एवं सबै वर्ग, समूह तथा नागरिक समाजलाई उहाँले धन्यवाद दिनुभयाे ।
प्रचण्डले मुलुकको अर्थतन्त्रको सम्बर्द्धन एवं उन्नयन गर्ने विषयलाई सरकारको नीति तथा कार्यक्रममार्फत सम्बोधन गरिएको बताउनुभयाे । सरकारको नीति तथा कार्यक्रमले कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, ऊर्जालगायत विषयमा प्राथमिकता दिएकाे पनि प्रचण्डले बताउनुभयाे ।
एक अर्कालाई दोषारोपण गरेर मात्रै समस्याको समाधान नहुने भन्दै उहाँले समस्या समाधानका लागि साझा प्रयास र संकल्प आवश्यक रहेको बताउनुभयाे । 'देशको विद्यमान समस्या समाधान गर्नका लागि एकै ठाँउमा उभिनुपर्ने बेला राजनीतिक दल एक आपसमा घोचपेच गर्ने, दोषारोपण गर्नेतर्फ लागेकामा मलाई चिन्ता लागेको छ, अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न, राष्ट्रिय सहमति र समझदारीतिर जानुपर्ने हो, देशलाई फेरि एकचोटि सहमतिको आवश्यकता छ, साझा प्रयास, संकल्प र प्रतिबद्धताको आवश्यकता देखिएको छ'-प्रचण्डकाे भनाइ छ । संविधान र मुलुकलाई दुर्घटनामा जानबाट रोक्ने उद्देश्यले वर्तमान गठबन्धन बनेको भन्न पनि प्रचण्डले भ्याउनुभयाे ।
पेट्रोलियम पदार्थमा लगाइएको कर हटाएर भए पनि जनतालाई राहत दिन आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरिसकेको पनि प्रचण्डले बताउनुभयाे ।निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण रोक्ने सर्वोच्च अदालतको फैसला पुनरावलोकन गर्नुपर्ने पनि उहाँले बताउनुभयाे ।
