काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह चुनाव भयरहित वातावरणमा सम्पन्न भएकाे दाबी गर्नुभएकाे छ ।
सरकारले सदनमा पेस गरेकाे नीति तथा कार्यक्रममाथिकाे छलफलमा उठेका प्रश्नकाे जवाफ दिँदै सीमित स्राेत साधनबीच पनि सरकारले एकै चरणमा चुनाव सम्पन्न गरेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'एकै पटक निर्वाचन गर्नु चुनौतीपूर्ण विषय हो, साधन र स्रोतको सीमितताका बीच भयरहित वातावरण सम्पन्न भएको छ ।'
छिटपुट घटनालाई लिएर संसय व्यक्त गर्नु उपयुक्त नभएकाे प्रधानमन्त्री देउवाकाे दाबी छ । पहिलो पटक स्थानीय तह चुनाव एकैपटक सम्पन्न भएको भन्दै उहाँले लोकतन्त्रलाई जगैदेखि मजबुत बनाउने निर्वाचनमा सहभागी भएर जनप्रतिनिधि छनौट गरेकोमा सबैलाई धन्यवाद दिनुभयाे ।
प्रधानमन्त्री देउवाले संसद्को गतिरोध अन्त्य गरेर संसदीय प्रक्रिया सुरु भएकोमा प्रतिपक्षी नेकपा एमालेलाई धन्यवाद दिनुभयाे ।
नेपाली भूमिकाे रक्षा गर्न सरकार प्रतिबद्ध रहेकाे पनि प्रधानमन्त्री देउवाले बताउनुभयाे । लिम्पियाधुरा,लिपुलेक र कालापानी नेपालकाे भूमि हाे भन्ने कुरामा नेपाल स्पष्ट रहेकाे देउवाले बताउनुभयाे । कूटनीतिक माध्यमबाट भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार तयार रहेकाे उहाँले बताउनुभयाे ।
उर्जासम्बन्धी अवधारणा सार्वजनिक भएकाे देउवाले बताउनुभयाे । ईपीजी प्रतिवेदन ३ वर्षअघि नै तयार रहेकाे बताउँदै देउवाले भन्नुभयाे - 'त्यतिबेला नै बुझ्नुपर्थ्याे किन बुझिएन ?' साे बुझ्न सरकार तयार छ ।' सरकार एक चीन नीतिमा प्रतिबद्ध रहेकाे र बीआरआइमा राेक नलगाएकाे देउवाले बताउनुभयाे ।
गेटा मेडिकल कलेज सञ्चालनकाे कुरा बजेटमा आउने पनि देउवाले बताउनुभयाे ।
