काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली भूमिकाे रक्षा गर्न सरकार प्रतिबद्ध रहेकाे बताउनु भएकाे छ ।
सरकारले सदनमा पेस गरेकाे नीति तथा कार्यक्रममाथिकाे छलफलमा उठेका प्रश्नकाे शनिबार प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री देउवाले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो भन्नेमा सरकार प्रष्ट रहेको बताउनुभयाे ।
तर प्रधानमन्त्री देउवाले नेपालकाे अध्यावधिक अर्थात चुच्चे नक्सामा समेटिएकाे लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितकाे भूमि फिर्ता ल्याउन सरकारले पहल गर्छाैं चाहिँ भन्नुभएन । 'लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपाली भूमि हो भन्ने कुरामा नेपाल सरकार प्रष्ट छ, भूमिसम्बन्धी विषय विशेष संवेदनशील विषय भएकाले वार्ता र कूटनीतिक पहलबाट समस्या समाधान गर्नुपर्छ मान्यतामा रहिआएको छ, यसमा हाम्रो कूटनीतिक प्रयास जारी छ, यससम्बन्धी विषयलाई नीति तथा कार्यक्रममा समावेश गरिएको छ'- देउवाले भन्नुभयाे ।
प्रधानमन्त्रीकाे जवाफमा एमाले सांसद् खगराज अधिकारी र पद्मा अर्यालले स्पष्टिकरण माग गर्नुभएकाे थियाे । त्यसकाे जवाफ पनि देउवाले स्पष्ट दिनुभएन । उहाँले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हाे भन्नेमा सरकार प्रष्ट छ भन्ने दाेहाेर्याउनुभयाे । तर त्याे भूमि फिर्ता ल्याउन सरकारले पहल गर्छ भन्ने कुरा देउवाले भन्नुभएन । देउवाले कूटनीतिक प्रयास जारी छ मात्रै भन्नुभयाे ।
प्रमुख प्रतिपक्षी नेता केपी शर्मा ओलीसहित एमाले सांसद्ले नेपाली भूमि फिर्ता ल्याउने सुनिश्चितता गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे थियाे । बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा एमाले अध्यक्ष ओलीकाे प्रश्न थियाे - 'लिम्पियाधुरा,लिपुलेक र कालापानी नेपालको हो कि होइन ? स्पष्ट जवाफ चाहियाे प्रधानमन्त्री ज्यू, चुच्चे नक्सामा समेटिएकाे भूमि फिर्ता ल्याउँछाैं भन्न याे सरकार सक्छ कि सक्दैन ?'
ओलीकाे प्रश्न अनुसारकाे जवाफ प्रधानमन्त्री देउवाले दिनुभएन । साे भूमि नेपालकाे हाे भन्नेमा सरकार प्रष्ट छ र कूटनीतिक प्रयास जारी छ मात्र भनेर देउवाले अस्पष्ट जवाफ दिनुभयाे । प्रधानमन्त्री देउवाले नक्सामा समेटिएकाे भूमि सरकारले फिर्ता ल्याउँछ भन्न सक्नुभएन । सरकारले छिमेकसँगको सम्बन्ध अझै उचो बनाउँदै लैजाने देउवाले बताउनुभयाे ।
एमाले सांसद्हरुले लिपुलेक समेटिएकाे चुच्चे नक्साअनुसारकाे भूमि फिर्ता ल्याउँछाैं भनेर सरकारले स्पष्टसँग भन्न नसकेकाे बताएका छन् । एमाले सांसद् पद्मा अर्याले देशकाे माटाे र स्वाभिमान सबैभन्दा ठूलाे कुरा भएकाे बताउनुभयाे । चुच्चे नक्सामा समेटिएकाे भूमि फिर्ता ल्याउँछाैं भन्न सरकारले खुट्टा कमाएकाे उहाँकाे भनाइ छ ।
हेर्नुस् देउवाकाे जवाफकाे पूर्णपाठ:
