काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता विधेयकलाई राष्ट्रिय सहमतिबाट टुंगोमा पुर्याइने बताउनुभएकाे छ ।
सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथि सांसद्ले उठाएका प्रश्नको शनिबार प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री देउवाले नागरिक विधेयक सबै दलको सहमतिमा अघि बढाइने बताउनुभयाे । नागरिकता नपाउनेहरुलाई अन्याय भएकाले यसमा अब सबै दलबीच सहमति हुनुपर्ने उहाँकाे भनाइ छ ।
प्रधानमन्त्री देउवाले वैवाहिक अंगीकृत नागरिकता दिने व्यवस्थामा अहिले पनि विवाद रहेको बताउँदै उहाँले भन्नुभयाे - 'अहिलेसम्मको चलन विवाह गरेको भोलिपल्टै नेपालमा नागरिकता पाउने छ, त्यसलाई हटाउन राष्ट्रिय सहमति चाहिन्छ, ७ वर्ष, २ वर्ष, ३ वर्ष भन्छन्, यस सम्बन्धमा हँचुवाका भरमा ल्याउने कुरा भएन, यसमा राष्ट्रिय सहमति गराएर अघि बढ्नुपर्छ ।' यसअघि नै नेपाली नागरिक भइसकेकाका उमेर पुगेका सन्तानलाई नागरिकता दिने पक्षमा सरकार रहेको उहाँले बताउनुभयाे ।
प्रधानमन्त्री देउवाले नेपालमा उद्योगहरूलाई नभई नहुने हकमा बाहेक सुपारी र केराउ आयात नगरिने बताउनुभयाे । उहाँले भन्नुभयाे - 'सुपारी, केराउजस्ता कच्चापदार्थको रूपमा आवश्यक पर्ने उद्योगको लागि मात्रै उपलब्ध गराइनेछ ।'
डडेलधुरामा मेडिकल कलेज खाेल्ने कुरामा विवाद गर्नु उचित नरहेकाे पनि उहाँले बताउनुयाे । 'त्यहाँचाहिँ बन्न हुँदैन भने फरक हो तर त्यहाँ पनि आवश्यक छ'- देउवाकाे भनाइ छ ।
