काठमाडौं । प्रदेश १ प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलका नेता भीमप्रसाद आचार्यले राजनीतिक दलले आफूले आफैलाई हेर्नु पर्ने बेला आएको बताउनुभएको छ ।
प्रदेश–१ प्रदेश सभा बैठकमा भाग लिँदै नेता आचार्यले देशका खास खास ठाउँमा स्वतन्त्र उम्मेदवार विजयी हुनुले पार्टीले आफूलाई पुनर्मुल्याङ्कन गर्ने बेला आएको बताउनुभयो । दलहरू कमजोर हुँदा गणतन्त्रात्मक शासन व्यवस्था पनि कमजोर हुने उहाँले बताउनुभयो ।
संघीयता र तीन तहको सरकारको आवश्यकतालाई दलहरूले प्रमाणित गर्न नसक्दा यसको खारेजीका नारा लाग्न लागेको उहाँले बताउनुभयो । यस्तै अवस्था हो भने सुई उल्टो दिशातिर घुम्ने उहाँले प्रष्ट पार्नुभयो ।
नागरिकले प्रदेश १ मा सरकार छ भन्ने आभास नै गर्न नसकेको बताउनुभयो । प्रदेश सरकारले जनताको काम गर्न नसकेको कारण नागरिकले सरकारको अनुभूति गर्न नपाएको बताउनुभयो ।
माथिबाट हात थापेर जे जति आउँछ, त्यो बाँड्दै जाने मात्र हो भने प्रदेश सरकारको आवश्यकता के ? भन्दै उहाँले प्रश्न गर्नुभयो । प्रदेश सरकार गठबन्धन टिकाउनको लागि मन्त्रालय फुटाउनमै व्यस्त रहेको उहाँले बताउनुभयो ।
किसानले किनेर हाल्छु भन्दा पनि मल नपाएको बेलामा सरकारको नीति कार्यक्रम र प्राथमिकता पढेर कुने अर्थ नहुने उहाँले बताउनुभयो । सुरक्षा, सुशासन र विकास तीन वटै कुरामा सरकार असफल भएको उहाँले टिप्पणी गर्नुभयो ।
सत्ता र नेतृत्वमा रहेका व्यक्तिको व्यवहारकै कारण व्यवस्था नै जोखिममा पर्न लागेको उहाँको भनाइ छ । आचार्यले यसले व्यवस्था प्रति नै प्रश्न उठेको बताउनुभयो । ‘हाम्रो कारणले सिङ्गो सिस्टम माथि प्रश्न उठ्ने भयो’, आचार्यले भन्नुभयो ।
वर्तमान सरकार कसैको चाकरी गर्ने र दलाली गर्ने हिसाबले प्रस्तुत भएको आचार्यले बताउनुभयो । इतिहासमा नेपालले गर्दै आएको राम्रा काम माथि पनि धक्का लागेको उहाँको भनाइ छ ।
प्रदेश राजधानी टुङ्ग्याउने बेलामा नाम पनि टुङ्ग्याउनु पर्नेमा त्यति बेला टुंग्याएर राखेको कारण प्रदेश–१ को नाम समेत राखन नसकिएको उहाँले बताउनुभयो । यसमा सरकारले नेतृत्व र पहल गर्नु पर्नेमा त्यो हुन नसकेको उहाँले टिप्पणी गर्नुभयो ।
एमाले सरकार हटाएर नयाँ गठबन्धन सरकार बन्ने बित्तिकै नामकरणको काम आजै गर्ने, भोलि नै गर्ने फाईँफुईँ गरिएको भए पनि त्यो हुन नसकेको उहाँले प्रष्ट गर्नुभयो । अहिले सत्ता घटककै दलले प्रदेशको नामाकरण माग गर्न लागेको भन्दै उहाँले व्यङ्ग्य गर्नुभयो ।
