काठमाडाैं । संघीय संसद्काे दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाकाे बैठक आज बस्दैछ ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाकाे बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने कार्यसूची छ । संघीय संसद्का दुवै सदनमा आजदेखि बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुनेछ ।
प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री जनार्दन 'आ.व. २०७९-०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ । त्यसपछि बजेटमाथि सामान्य छलफल सुरु हुनेछ ।
राष्ट्रिय सभामा पनि अर्थमन्त्री शर्माले 'आ.व. २०७९-०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । त्यसपछि बजेटमाथि छलफल हुने संसद् सचिवालयले जनाएकाे छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले बजेट हावादारी भएको भन्दै सदनबाटै भण्डाफोर गर्ने जनाएको छ । साेमबार बसेकाे संसदीय दलकाे बैठकमा एमाले अध्यक्ष एवं पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले अनुचित ढंगले आगामी आर्थिक वर्षको बजेट ल्याएकाे भन्दै त्यसलाई जनताको बीचमा भण्डाफोर गरेर लैजान पार्टीका सांसद्लाई निर्देशन दिनुभएकाे छ ।
