काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद् विष्णु पौडेलले सरकारले ल्याएकाे बजेट सतही र प्राथमिकताबिहीन रहेकाे बताउनुभएकाे छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिका छलफलमा भाग लिँदै एमाले उपाध्यक्ष समेत रहनुभएका सांसद् पाैडेलले सरकारकाे बजेट सत्ता गठबन्धनको चुनावी घोषणापत्र भएकाे बताउनुभयाे ।
मतदातालाई प्रभाव र भ्रममा पारेर आसन्न चुनावमा भोट बटुल्ने उदेश्यले बजेट आएकाे बताउँदै उहाँले भन्नुभयाे - 'यो बजेट नभएर सत्ता गठबन्धनको चुनावी घोषणापत्र जस्तो, चुनावी पर्चा जस्तो छ ।'
पूर्व अर्थमन्त्री समेत रहनुभएका सांसद् पाैडेलले सरकारले बोक्नै नसक्ने आर्थिक दायित्व सिर्जना गरेको बताउनुभयाे । संकटपूर्ण अर्थतन्त्रलाई सही बाटोमा फर्काउनेगरी बजेट आउनुपर्नेमा त्यसमा सरकार चुकेको बताउनुभयाे । सरकारले ल्याएकाे बजेट सुख्खा जमिनमा घस्रिन खाेजेकाे चिप्लेकिराजस्ताे भएकाे टिप्पणी उपाध्यक्ष पाैडेलले गर्नुभयाे । जेटले बजेटको मर्ममाथि नै प्रहार गरेकाे र बजेट नाराकाे भीडमा अलमलिएकाे उहाँले बताउनुभयाे ।
सरकारले समृद्ध नेपाल,सुखी नेपाली उच्चारण गर्न नचाहेकाे बताउँदै उहाँले भन्नुभयाे - 'याे सरकारले सुखी नेपालीकाे राष्ट्रिय आकांक्षा र राष्ट्रिय कार्यभार पूरा गर्न त परै जाहाेस्समृद्ध नेपाल उच्चारण गर्न पनि संकाेच मानिरहेकाे छ, याे नेपाललाई समृद्ध बनाउने र नेपालीलाई सुखी बनाउने राष्ट्रिय आकांक्षाबाट याे सरकार किन टाढिँदैछ ?'
उपाध्यक्ष पाैडेलले बिनाआधारमा काल्पनिक कुरा अगाडि सारिएकाे भन्दै उहाँले ५ महिने सरकारले ठूला आयाेजना अगाडि सारिएकाे बताउनुभयाे । काेशी र कर्णालीलाई जाेड्ने कामलाई अहिले प्राथमिकतामा राख्नुभन्दा अर्थतन्त्र सुधारमा ध्यान दिनुपर्नेमा सरकार चुकेकाे पनि बताउनुभयाे ।
यति धेरै वितरणमुखि कार्यक्रम ल्याएकाे सरकारले सामाजिक सुरक्षा भत्ता ५ हजार किन नल्याएकाे भन्दै प्रश्न गर्नुभयाे ।
