काठमाडौं । नेपाली कांग्रेसका सांसद् मिनेन्द्र रिजालले बजेटको मूल दिशा ठिक भएको दाबी गर्नुभएकाे छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिकाे छलफलमा भाग लिँदै सांसद् रिजालले अहिलेकाे चुनाैतीपूर्ण अवस्थामा यो भन्दा पृथक ढंगले बजेट आउन नसक्ने दाबी गर्नुभयाे । बजेटमा व्यवस्था गरिएको कर छुटले अर्थतन्त्रलाई चलायमान बनाएको उहाँकाे दाबी छ । '
अर्थतन्त्रलाई सहि दिशा दिन सत्ता र प्रतिपक्ष मिलेर अगाडि बढ्नुपर्ने सांसद् रिजालले बताउनुभयाे । 'आन्तरिक ऋण बढेको हो, हामीले सिर्जना गरेको होइन नी, अर्थतन्त्रको चुनौती काे सत्तामा छ, को सत्तामा छैन भन्ने कुराले फरक पार्दैन'-उहाँले भन्नुभयाे ।
आफूले ल्याएको बजेटलाई हेरेरमात्रै आगामी आर्थिक वर्षको बजेटबारे टिप्पणी गर्न प्रमुख प्रतिपक्ष एमालेलाई आग्रह गर्दै पूर्वअर्थमन्त्रीप्रति व्यंग्य पनि गर्नुभयाे । संसद् बाहिरबाट बजेट ल्याएकाे कुरा स्मरण गर्न रिजालले पाैडेललाई आग्रह गर्नुभयाे ।
भूमिका बदलियाे भन्दैमा आलाेचनात्मक टिप्पणी गर्न नहुने बताउँदै उहाँले भन्नुभयाे - 'भूमिका बदलियाे भन्दैमा धेरै आलाेचनात्मक टिप्पणी नगराैं, समृद्ध नेपाल निर्माणका लागि ध्यान दिऔं, कसरी पूर्वाधार विकास गर्न सक्छाैं, कसरी निर्यातमा ध्यान दिन सक्छाैं, कसरी आयात राेक्न सक्छाैं त्यसमा छलफल गराैं, यी झिना मसिना कुराबाट कहिँ पुगिदैन, गाली गर्ने काम त चुनावका बेला गराैंला ।'
