काठमाडाैं । नेकपा माओवादी केन्द्रका सांसद् वर्षमान पुनले सरकारले ल्याएकाे बजेट समयमै कार्यान्वयन हुने दाबी गर्नुभएकाे छ
मंगलबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिकाे छलफलमा भाग लिँदै सांसद् पुनले सरकारकाे नीति तथा कार्यक्रम र बजेटकाे सिद्धान्त र प्राथमिकता एकै किसिमले आएकाले समयमै कार्यान्वयन हुने दाबी गर्नुभयाे । उहाँले भन्नुभयाे - 'याे बजेट राम्राे छ, उत्कृष्ट छ, समयमै कार्यान्वयन हुन्छ ।'
पूर्व अर्थमन्त्री समेत रहनुभएका सांसद् पुनले कृषिमा क्रान्तिकारी छलाङ मार्नेगरी बजेट आएकाे दाबी गर्नुभयाे । 'कृषिमा ३२ प्रतिशत बजेट वृद्धि गर्नु आफैंमा क्रान्तिकारी छलाङ हाे'-उहाँकाे भनाइ छ ।
कृषिकाे आधुनिकीकरण, व्यवसायीकरण, उत्पादन वृद्धि गर्ने, रोजगारी सृजना गर्ने, बाँझो जमिनलाई उपयोग गर्ने, धान, गहुँ, मकै लगायत बालीको न्यूनतम समर्थन मूल्य तोक्ने, कृषक पेन्सन जस्ता लाेकप्रिय योजना बजेटमा राखिएकाे उहाँले बताउनुभयाे ।
लघुवित्त कर्जा, योगदानमा आधारित किसान पेन्सनले कृषि पेशालाई मर्यादित र भविष्य सुनिश्चित बनाउने सांसद् पुनकाे दाबी छ । आगामी आर्थिक वर्ष धान, गहुँ, मकै र फलफूलको आयात ३० प्रतिशतले घटाउने लक्ष्य स्वागतयोग्य रहेको उहाँले बताउनुभयाे । सरकारले कृषिमा राम्रा कार्यक्रम राख्नु क्रान्तिकारी कदम रहेकाे पनि उहाँले बताउनुभयाे ।
बजेटमा समेटिएका 'मेक इन नेपाल' 'मेड इन नेपाल' अभियानले स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने, एक स्थानीय तह एक उत्पादन, उद्योगलाई विद्युतमा छुट, नेपालमै उत्पादन गर्ने उद्योगलाई आयकरमा छुट जस्ता निर्णयले दीर्घकालीन रुपमा मुलुकको हित गर्ने पुनकाे दाबी छ ।
सांसद् पुनले अर्थतन्त्रको परम्परागत संरचनालाई पुनः संरचना गर्ने दिशालाई बजेटले सम्बोधन गरेको बताउनुभयो । किसानका उत्पादनलाई बजारको सुनिश्चिता, पशु बीमाको प्रिमियम वृद्धि, स्वदेशी उत्पादनलाई प्रश्रय लगाय विषय महत्वपूर्ण रहेकाे बताउनुभयाे ।
