काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) का सांसद् अनिलकुमार झाले सरकारले ल्याएकाे बजेट वितरणमुखी भएको बताउनुभएकाे छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिकाे छलफलमा भाग लिँदै सांसद् झाले सरकारले आसन्न चुनावलाई लक्षित गर्दै बजेट ल्याएकाे बताउनुभयाे । सरकारले आसन्न चुनावमा कार्यकर्तालाई पैसा बाँड्ने हिसाबले बजेट ल्याएकाे उहाँले बताउनुभयाे ।
'यो बजेट वितरणमुखी हो, ६ महिनापछि हुने निर्वाचनमा कसरी आफूलाई र आफ्ना कार्यकर्ताहरुलाई इंगेज गर्न सकिन्छ ? दुई-चार लाख कार्यकर्तालाई कसरी यसबाट केही चिज वितरण गर्न सकिन्छ भन्ने प्रकारले बजेट बनाइएको मैले बुझेको छु'- झाले भन्नुभयाे ।
नदी नियन्त्रण, तटबन्ध तथा बाँध निर्माण, पुर्ननिर्माणका विषयलाई बजेटले प्राथमिकता नदिएकाे उहाँले बताउनुभयाे । 'मनसुन आउन लागेको छ, नदी नियन्त्रणको बारेमा, तटबन्ध मर्मतको बारेमा, बाँधलाई पुर्ननिर्माण गर्ने बारेमा न त त्यो काम चालु आर्थिक वर्षमा भइरहेको छ, न त भविष्यमा त्यसलाई मजबुतीका साथ बनाइन्छ भन्नेमा यो बजेटले अनुभूति दिन सकेको छ'- सांसद् झाले भन्नुभयाे ।
उपभोक्ता र आम नागरिकका माग सम्बोधन गर्न सरकार गम्भीर नभएकाे पनि उहाँले बताउनुभयाे । विभिन्न क्षेत्रमा विनियाेजित बजेट पनि कार्यान्वयनमा आशंका रहेकाे बताउनुभयाे । पशु बीमा र कृषि बीमा कार्यक्रम २० प्रतिशत पनि लागू हुन नसकेको भन्दै उहाँले बजेटमा लेखिएका नारा कार्यान्वयन गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
