काठमाडाैं । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले सरकारले ल्याएकाे बजेटलाई चुनावी प्रचारकाे संज्ञा दिनुभएकाे छ ।
मंगलबार बसेकाे राष्ट्रिय सभा बैठकमा बजेटमाथिकाे छलफलमा भाग लिँदै सांसद् पाैड्यालले भन्नुभयाे - 'याे बजेट चुनावी प्रचारका लागि ल्याइएकाे कार्यक्रमजस्ताे याे बजेट कार्यान्वयन गर्नै नपर्ने देखियाे ।'
सरकारले आवश्यक र राम्रा कार्यक्रमकाे बजेट कटाैती गरेकाे तर अनावश्यक संरचना र कार्यक्रममा लागि बजेट छुट्याएकाे उहाँकाे भनाइ छ । राष्ट्रपति उत्थान कार्यक्रमले सुत्केरी सेवामा एकदम राम्रो गरिरहेकाे तर सरकारले साे कार्यक्रमकाे बजेट घटाएकाे सांसद् पाैड्यालले बताउनुभयाे ।
देश आर्थिक संकटबाट गुज्रिरहेका बेला सरकारले देशलाई नै आर्थिक भार बढाउनेगरी बजेटमा कार्यक्रम राखिएकाेमा उहाँले आपत्ति जनाउनुभयाे । सांसद् पाैड्यालले वृद्धभत्ता दिने उमेर २ वर्ष घटाएर ६८ बनाइएकाेमा पनि आपत्ति जनाउनुभएकाे हाे । हाल ७० वर्षमा वृद्धभत्ता दिने व्यवस्था छ । सरकारले आइतबार बजेट सार्वजनिक गर्दै वृद्धभत्ता ६८ वर्षमा दिने बताएकाे थियाे ।
५ महिने चुनावी सरकारले देशमा आर्थिक दायित्व थपेको उहाँकाे भनाइ छ । उहाँले भन्नुभयाे -'जति औसत आयु बढ्दै जान्छ, त्यति भत्ता पाउने उमेर बढाउनुपर्छ प्राकृतिक नियम त्यो हो, तर हाम्रोमा नियम पछाडि दौडेको छ, दुई वर्ष घटाइएको छ, यो घटाउँदा कति आर्थिक दायित्व पर्छ भन्ने कुरा थाहा छैन, अर्को सरकारले क्रमशः ६५, ५५ बनाउँछु भन्यो भने के गर्ने ? भोट माग्ने राजनीति न भएको छ ।'
नेताहरु अब काम छाेडेर भत्ता खाएर बसे हुने बताउँदै उहाँले भन्नुभयाे - 'प्रधानमन्त्रीज्यू अस्ति नै पुगिसक्नुभएछ ६८ त, अरू शीर्ष नेताहरू सबै ६८ वर्ष पुगिसक्नुभएको छ, उहाँहरू सबैले काम गर्न छोडेर भत्ता खाएर बस्नुस्, काम गर्न सक्नुहुन्न भने, ५ महिनाको सरकारले यसरी दायित्व थप्न मिल्छ ? यो उमेर घटाउने बेला हो ? बरु सामाजिक सुरक्षाको अन्य दायरा बढाउनुपर्छ ।'
