काठमाडौं । जसपाका सांसद प्रदिप यादवले वीरगञ्ज देशकालागि सोनाको अण्डा दिने सरह भएपनि सरकारले वीरगञ्जलाई वेवास्ता गरेको बताउनुभएको छ ।
उहाँले आफ्नाे पार्टी सरकारमा भए पनि सरकारले आफ्नाे क्षेत्रलाई नहेरेकाे बताउनुभएकाे छ । ‘हामी गठबन्धनकाे सरकारमा छौ । त्यहिँ पनि हामी रोइरहेका छौं किनकि वीरगञ्जलाई सरकारले केहि दिएको छैन ।’ यादवले भन्नुभयो ।
बुधवार प्रतिनिधि सभामा बजेटमाथिकाे सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद प्रदिप यादवले वीरगञ्ज सोनाको अण्डा दिने सहर भए पनि सरकारले वेवास्ता गरेर बजेट नपठाएको बताउनुभएको छ ।
‘वीरगञ्ज सहर यो सोनाको अण्डा दिने सहर हो । यो मुलुकको लागि एउटा ठूलो अर्थतन्त्र पाउने सहरको रुपमा छ । राजस्वको रुपमा हेर्ने हो भने पनि जति देशको भन्सारको रुपमा छ, त्यो भन्सारको ६० प्रतिशत रकम वीरगञ्जबाट मुलुकले पाउँछ ।’ यादवले भन्नुभयो– ‘आइसिबी त्यहिँ छ । ड्राईपोर्ट त्यहिँ छ । सानो र ठूलो गरेर हजारौं उद्योग छ । यी उद्योगबाट पनि मुलुकलाई ट्याक्स आउँछ । समग्र कुरा गर्दा मुलुकको ३५ देखि ४० प्रतिशत राजस्व वीरगञ्जले दिन्छ । तर वीरगञ्जलाई यो बजेटमा के दिइयो ?’
उहाँले अर्थमन्त्रीको बजेट हेर्दा र सुन्दा कानमा कहिँ पनि वीरगञ्ज नपरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘नसुनिएको हैन, पुरानै ६ लेनको बाटोलाई निरन्तरता दिने कुरा सुनियो । तर नयाँ स्पेसल केहि कुरा सुनिएन ।’
यो वीरगञ्जको लागि नौलो कुरा नभएको भन्दै बिरगंज सधैं ठगिएको उहाँले बताउनुभयो । वीरगञ्जले राष्ट्रिय स्तरको नेता उत्पादन गर्न नसकेकाले बिरगंज पछि परेको उहाँले भन्नुभयो ।
‘वीरगञ्जले राष्ट्रिय स्तरको नेता उत्पादन गर्न सकेन । राष्ट्रिय स्तरको नेता बनाउन सकेन । न कुनै राष्ट्रिय स्तरको नेताका छोरा छोरी वीरगञ्जको नेता भयो । कि त्यो त्यहाँ बजेट लिएर जाओस्’ यादवले भन्नुभयो ।
वीरगञ्जबाट सधैं लिने । तर, बिरगंजलाई केहि नदिने बताउँदै उहाँले बिरगंजमा रहेको नारायणी रंगशाला कोमामा गएको तर सरकारले निमार्णका लागि बजेट नछुट्याएको र कर्मचारी नियुक्तिको लागि मात्र सरकारले रंगशाला राखेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो– ‘सरकारले बनाउन नसक्ने भए प्रदेश नभए स्थानिय सरकारको स्वामित्वमा छोडिदियोस् । हामी बनाउँछौं रंगशाला ।’
उहाँले वीरगञ्जमा रहेकाे नारायणी अस्पतालकाे अवस्था पनि एकदमै नाजुक भएकाे बताउँदै डाक्टर भएकाे बिरामी आउने तर अस्पतालकाे भवन जीर्ण भएकाे र अस्पताल प्रविधि मैत्री नभएकाे बताउनुभएकाे छ ।
'वीरगञ्जमा रहेकाे नारायणी अस्पताल छ । डाक्टर छन् । बिरामी आउँछन् । तर राम्राे व्यवस्थित भवन छैन । प्रविधि मैत्री अस्पताल बनाउन अहिले सम्म सरकारले सहयाेग गरेकाे छैन' यादवले भन्नुभयाे ।
