काठमाडाैं । राष्ट्रिय जनमोर्चाकी सांसद् दुर्गा पौडेलले विदेशीलाई अपार्टमेन्ट किन्न छुट दिन नहुने बताउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतनिधि सभा बैठकमा सरकारकाे नीति तथा कार्यक्रममाथिकाे सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले विदेशीलाई नेपालमा अपार्टमेन्ट किन्दा छुट दिने कुरा बजेटमा भएकाे भन्दै त्यसाे गर्न नहुने बताउनुभयाे ।
विदेशी ऋण लिँदा देशकाे स्वाभिमानमा असर नपर्ने गरी लिनुपर्ने भन्दै उहाँले एमसीसी खारेज गर्न माग गर्नुभयाे । संघीयता खारेज गर्न पनि सांसद् पाैडेलले भन्नुभयाे । महिला हिंसाका मुद्दा हेर्न फास्ट ट्रयाककाे अदालत आवश्यक रहेकाे भन्दै उहाँले त्यसका लागि बजेट छुट्याउन माग गर्नुभयाे । उत्पीडित महिलालाई महिला काेष बनाउने व्यवस्था गर्न पनि सरकारसँग माग गर्नुभयाे ।
बलात्कार पीडितकाे दायित्व सरकारले लिनुपर्ने उहाँकाे भनाइ छ । बजेटमा सीमा अतिक्रमण र भूमि फिर्ता ल्याउने विषय उल्लेख नभएकाेप्रति पनि सांसद् पाैडेलले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
