काठमाडाैं । सांसद् ह्यदयेश त्रिपाठीले सरकारकाे ल्याएकाे बजेटलाई निबन्धकाे संज्ञा दिनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा बजेटमाथिकाे छलफलमा भाग लिँदै सांसद् त्रिपाठीले सरकारले ल्याएकाे बजेटकाे स्राेत नै सुनिश्चित नभएकाे बताउनुभयाे । माेटाउनु र सुन्निनुमा फरक रहेकाे बताउँदै उहाँले भन्नुभयाे - 'मोटाउनु र सुन्निनु फरक कुरा हो,सुन्निनु भएकाे राेग हाे, बजेट धेरै ठाउँमा सुन्निएको जस्तो छ जुन बिरामीको कारण हो ।'
नेपाली अर्थतन्त्रलाई ध्वस्त बनाउन बजेट उद्दत भएकाे पनि सांसद् त्रिपाठीले बताउनुभयाे । आयात र वित्तिय अनुशासनले नै देशकाे अर्थतन्त्र ध्वस्त पार्ने बताउनुभयाे । अहिलेकाे बजेटले निम्त्याएकाे समस्या समाधान गर्न ४ वर्ष लाग्ने समेत उहाँले ठाेकुवा गर्नुभयाे । नागरिककाे गतिविधिलाई अंकुश लगाउने काम बजेटले गरेकाे पनि उहाँकाे भनाइ छ ।
बजेटमा राखिएका कार्यक्रम एकदमै अव्यवहारिक भएकाे बताउनुभयाे । चुनावकाे मुखमा आएकाे बजेटलाई वितरणमुखी भयाे भनेर आराेप लगाउनै नपर्ने उहाँले बताउनुभयाे ।
किसानलाई पेन्सन हावादारी कुरा भएकाे बताउँदै उहाँले प्रश्न गर्नुभयाे - 'कस्ताे याेगदानकाे आधारमा हाे याे दिने ? कस्ताे हुन्छ यसकाे माेडालिटी ? याे सबै हावादारी हाे ।' किसानलाई खेतमा पानी, समयमा मल र उम्रिने बिउ भए पुग्ने उहाँकाे छ ।'
आफू स्वास्थ्य तथा जनसंख्यामन्त्री हुँदा सडक विभाग र ट्राफिक प्रहरी कार्यालयले नेपालमा सबैभन्दा बढि दुर्घटना हुने ठाउँ भनेर धनुषाकाे ढल्के,कैलालीकाे लम्की र पूर्वी नवलपरासीकाे बर्दघाट भनेर पठाएका भन्दै सांसद् त्रिपाठीले त्यसमा पनि बर्दघाट पहिलाे नम्बर रहेकाे बताउनुभयाे ।
ती तीन वटै ठाउँमा ट्रमा सेन्टर आवश्यक ठानेर अघिल्लाे सरकार बजेटमा राखेकाे तर अहिलेकाे सरकारले काटेकाेमा भन्दै उहाँले कडा आपत्ति जनाउनुभयाे । अघिल्लाे सरकारले ल्याएका कार्यक्रम काटेर मन्त्रीहरुका ठाउँमा ट्रमा सेन्टर स्थापना गर्नेगरी बजेट आउनु निन्दनीय भएकाे सांसद् त्रिपाठीले बताउनुभयाे ।
'सरकारले कति दुर्नियतवश काम गर्ने रहेछ भन्ने मैले देखेँ यसपाली,तत्कालीन अवस्थामा बजेटमा परिसकेकाे यी तीन वटै ठाउँका ट्रमा सेन्टरलाई काटेर त्यसलाई सिध्याएर अनि मन्त्रीहरुले आफ्नाे-आफ्नाे ठाउँमा लैजानुभयाे,मुवारक छ तपाईंहरुले दुर्घटना निम्त्याउन खाेज्नुभएकाे हाे कि उपचार गर्न खाेज्नुभएकाे हाे ? जहाँ दुर्घटनाकाे परपरसम्म सम्भावना छैन ती ठाउँमा ट्रमा सेन्टर लगिएकाे छ, याे साह्रै निन्दनीय र अविवेकी काम भएकाे छ'-उहाँले भन्नुभयाे ।
गठबन्धन सरकारले ल्याएकाे बजेटमा पूर्वी नवलपरासी (नवलपुरकाे) को देवचुली नगरपालिकासहित कैलालीको लम्की, कर्णाली कोरिडरको राकम र धादिङको बेल्खुमा ट्रमा सेन्टर स्थापना गर्ने उल्लेख छ । सांसद् त्रिपाठीले स्थानीय पूर्वाधार विभाग खारेज गरिएकाेमा पनि उहाँले आपत्ति जनाउनुभयाे ।
समाजवादबारे कम्युनिष्ट र कांग्रेसकाे परिभाषा फरक रहेकाे बताउँदै उहाँले भन्नुभयाे - 'समाजवादकाे व्याख्या नगरी ५ वर्ष वित्याे कांग्रेस र कम्युनिष्टकाे समाजवाद फरक फरक छ, १० कराेडसम्मकाे ठेक्का सहकारीले गर्ने याे कुन समाजवाद हाे, शब्दकाे दुरुयाेग नगराैं ।'
सरकारले दुर्नियत राखेर चुनावलक्षित बजेट ल्याएकाे सांसद् त्रिपाठीले बताउनुभयाे । आउने सरकारलाई भारी बाेकाउने अनैतिकपूर्ण काम सरकारले गरेकाे उहाँले बताउनुभयाे । अहिलेकाे बजेटले निम्त्याउने संकट र दुर्घटनाका लागि तयार भएर बस्न उहाँले चेतावनी दिनुभयाे ।
