काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले बजेट चुनावलक्षित नभएकाे दाेहाेर्याउनुभएकाे छ ।
सरकारले सदनमा पेस गरेकाे आर्थिक वर्ष २०७९-८० को बजेटमाथिको सामान्य छलफलमा राष्ट्रिय सभा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले बजेट चुनावलक्षित नभएर विकास लक्षित भएकाे दाबी गर्नुभयाे ।
बुधबार बसेकाे राष्ट्रिय सभा बैठकमा जवाफ दिने क्रममा अर्थमन्त्री शर्माले बजेटमा पैसा बाँड्ने कुरा कतै नगरेको दाबी गर्नुभयाे । 'बजेटमा चुनावलाई ध्यानमा राखेर पैसा बाँड्ने कार्यक्रम मात्रै बनाइयो भन्ने छ तर यहाँ कतै पैसा बाँड्ने काम छैन, अनुदान भन्ने कतै पनि छैन ।'
मन्त्री शर्माले इन्डक्सन चुल्हाे बाँडेर भोट साट्न नखाेजिएकाे पनि उहाँले बताउनुभयाे । प्रतिपक्षलाई नै साथमा लिएर चुल्हाे बाँड्ने दाबी गर्दै मन्त्री शर्माले चुलोमा राजनीति नगरिएकाे दाबी गर्नुभयाे ।' इन्डक्सन चुलो बाँडेर भोट साट्ने कुरा बजेटमा छैन,सरकारले यस्ताे गर्दैन'- उहाँकाे दाबी छ ।
गरिब, उत्पीडित जनता, अर्थशास्त्री, बुद्धिजीवी र आम राजनीतिक पार्टीको मार्ग निर्देशनलाई बजेटमा आफूले प्रस्तुत मात्रै गरेको भन्दै उहाँले विरोधका लागि विरोध गर्ने मान्यताबाट मुक्त भएर अघि बढ्न आग्रह गर्नुभयाे । बजेटमा केही कमजाेरी भएपनि पूरै गलत छ भन्न नमिल्ने उहाँले बताउनुभयाे ।
संविधानअनुसार वृद्धभत्ता लिने उमेर घटाइएकाे भन्दै उहाँले भत्ता लिन नचाहानेले स्वघाेषणा गरेमा सम्मान घाेषणा गर्ने उहाँले बताउनुभयाे । आर्थिक वृद्धिकाे लक्ष्य पूरा गरिने पनि अर्थमन्त्री शर्माले दाबी गर्नुभयाे । बजेटले अहिलेकाे आर्थिक संकट समाधानमा केन्द्रित रहेकाे दाबी पनि उहाँले गर्नुभयाे ।
