काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद् प्रदीप ज्ञवालीले गठबन्धन सरकारले आर्थिक अस्थिरता ल्याउन खाेजेकाे बताउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा बजेटमाथिकाे छलफलमा भाग लिँदै एमाले उपमहासचिव समेत रहनुभएका सांसद् ज्ञवालीले आधारहीन बजेट ल्याएर सरकारले आर्थिक अस्थिरता ल्याउन खाेजेकाे बताउनुभयाे । बजेटमा निक्कै धेरै वितरणमुखी कार्यक्रम ल्याएकाे भन्दै उहाँले त्यसलाई थेग्न गाह्राे हुने दाबी गर्नुभयाे ।
उहाँले भन्नुभयाे - 'गाई पाेसिलाे भयाे र फाचाभरी दूध दियाे भने पाे बाँड्न पुग्ने हाेला,बाँड्नका लागि तपाईंले उत्पादकत्वमा, दानापानीमा, घाँसमा लगानी गर्नुभएन त्यसले गर्दा यसले उत्पादकत्व वृद्धि गर्दैन, व्यापार घाटा घटाउँदैन, राेजगारी सृजना गर्दैन, तर वितरणमा ठूलाे चाप ल्याउँछ र मुलुककाे आर्थिक संकटलाई अझै सघन बनाउँछ, सारमा वर्तमान सरकारले राजनीतिक अस्थिरता ल्याएकाे थियाे थियाे,आर्थिक अस्थिरता समेत ल्याउन खाेज्दैछ, ।'
आर्थिक पूर्वानुमान गर्न नसकिने, विश्वकाे अर्थतन्त्रकाे सकलाई एब्जर गर्न नसक्ने र थप संकटकाे पुर्नाेउत्पादन गर्ने हिसाबले बजेट आएकाे उहाँकाे भनाइ छ । बजेटले अर्थतन्त्रका मूलभूत समस्यालाई सम्बोधन गर्न नसकेको भन्दै उहाँले सरकार आर्थिक नीतिमा सुधार ल्याउने विषयमा चुकेको बताउनुभयाे ।
एमालेकाे विराेध गर्ने वर्तमान सरकार अन्तत: एमालेकै बाटाेमा आएकाे सांसद् ज्ञवालीले बताउनुभयाे । उहाँले भन्नुभयाे -'रूपान्तरणकारी योजना चाहिन्छ भन्ने वर्तमान सरकारलाई महसुस भएको छ, नेकपा एमाले यो देशको, विकासको ट्रेन्ट सेटर हाे, उसले जुन ट्रेन्ट सेट गरेको छ, एकछिन विरोध गर्नुहोला, तर बेर सबेर त्यो ठाउँमा नआइ सुखै छैन, कमसेकम यो बजेटमा आइपुग्दाखेरी त्यो रिअलाइजेसन गरेकोमा धन्यवाद भन्न चाहन्छु ।'
सरकारले अघि सारेकाे आर्थिक वृद्धिकाे लक्ष्य पूरा हुनै नसक्ने ठाेकुवा उहाँले गर्नुभयाे । 'पूँजीगत खर्च घटाउनु भएको छ, २१ प्रतिशत खर्च गरेर ८ प्रतिशत आर्थिक वृद्धि ? यसको लागि त नयाँ एडम स्मित खोज्नु पर्ने हो कि नयाँ मार्क्स खोज्नुपर्ने हो कि नयाँ पिकेटी खोज्नुपर्ने हो ? हाम्रो सोझो अर्थतन्त्रको हिसाबले त यस्तो कुरा कहीँ पनि हुन्छ जस्तो मलाइ लाग्दैन'- उहाँकाे भनाइ छ ।
बजेटले स्वदेशी र विदेशी लगानीकर्तालाई विश्वास दिलाउन नसक्ने उहाँकाे भनाइ छ । सरकारले एमसीसीलाई जस्तै अहिले बुढीगडण्डकीलाई गिजाेल्न खाेजेकाेमा उहाँले कडा आपत्ति जनाउनुभयाे । उहाँले भन्नुभयाे - 'विदेशी लगानी बढाउँछु भन्दै हुनुहुन्छ तर तपाईंहरूका क्रियाकलापले विदेशी लगानीकर्तालाई लगातार हतोत्साहित गरिरहेको छ, हिजो गिजोल्नसम्म गिजोलियो एमसीसी, पछि के देख्नुभयो तपाईंहरुले, सत्ता जान्छ भन्ने ठान्नुभयो के ठान्नुभयो, कुरा त जहाँको त्यहीँ छ तर एमसीसी पास गर्नुभयो, तर आज त्यसैगरी बुढीगण्डकी गिजोल्दै हुनुहुन्छ, यो गिजोल्ने कुरामा किन आनन्द आउँछ ? हामीले त सरकार परिवर्तन होस् तर नीति स्थिर रहनुपर्ने होइन र ?'
राजनीतिक स्थायित्वको महत्वपूर्ण आधार भनेको नीतिको स्थिरता र निरन्तरता भएकाे भन्दै उहाँले नयाँ सरकार आउँदा नीतिमा परिवर्तन गर्नु गलत भएकाे बताउनुभयाे । बुढीगण्डकी निर्माणकाे जिम्मा कहिले चीनलाई दिने कहिले आफैं बनाउने भन्ने कुराले सरकारमा अस्थिरता देखिएको सांसद् ज्ञवालीले बताउनुभयाे । उहाँले भन्नुभयाे - 'नयाँ सरकार आउँदा यी कुराहरूमा परिवर्तन हुँदैन भन्ने अनुमान गर्न सकिने हुनुपर्छ, लगानीकर्ताले नयाँ सरकार आएपछि पनि यी कुरा परवर्तन हुँदैन भनेर ३० वर्षको योजनासहित लगानी गर्न आउने हो, हिजो के देखेर चीनलाई दिने भन्यौं ? आज के देखेनौं के पाएनौं र फेरि नदिने भन्यौं, यस्तो खालको अस्थिरता ? हिजो आफू सरकारमा रहँदा एमसीसीमा हस्ताक्षर गर्यौं. त्यसपछि तीन वर्ष त्यसविरुद्ध आगो बाल्यौं, यसले नीतिको स्थिरता भएन, यसले लगानीकर्ता बाह्य जगतलाई विश्वासको सन्देश दिँदैन ।'
विश्वास नभए लगानी नहुने भन्दै उहाँले नेपालमा लगानी गर्न आउनेहरू नाफा कमाउन नै आउने भएकाले वैदेशिक लगानीको नीतिमा अस्थिर बनेर लगानीको वातावरण विथोल्न नहुने स्पष्ट पार्नुभयाे । कहिले भारतसँग बिजुलीका कुरा गर्ने र चीनलाई बनाउन दिन्छाैं दिँदैनाैं भनेर कुरा फेर्दा छिमेकी सम्बन्ध बिग्रने पनि उहाँले बताउनुभयाे ।
