काठमाडाैं । नेपाली कांग्रेसका सांसद् गगन थापाले अर्थमन्त्री जनार्दन शर्मामाथि विभिन्न प्रश्न उठाउनुभएकेा छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा बजेटमाथिकाे छलफलमा भाग लिँदै कांग्रेस महामन्त्री समेत रहनुभएका थापाले बजेटकाे स्राेत के हाे ? कार्यान्वयनका आधार के हुन ? लगायत ७ प्रश्न साेध्नुभयाे । उहाँले २ सुझाव पनि दिनुभयाे ।
बजेटकाे आकार बढाइएकाे भन्दै थापाले यसकाे स्राेत के हाे भनेर अर्थमन्त्रीलाई प्रश्न गर्नुभयाे । 'बजेटको आकारको सन्दर्भमा खर्च गर्ने क्षमता नभएर यो चालु आर्थिक वर्षमा यसको आकार संसोधन गर्नुपर्छ भनेर जसरी माननीय अर्थमन्त्रीज्यूले संसोधन गर्नुभयो, हामीले स्रोत व्यवस्थापनमा के नयाँ कुरा गर्दैछौं वा हामी आफ्नो क्षमता अभिवृद्धि गर्ने कुरामा के गर्दैछौं जसको कारणले गर्दा यो वर्ष अर्थमन्त्रीले आफैं २० प्रतिशत भन्दा बढीले बजेटको आकार बढाउने कुरा प्रस्तुत गर्नुभएको छ, यसलाई म जस्तो एउटा सांसद्लाई यो यस्तो आधार छ, यो तथ्य तथ्यांकका आधारमा प्रमाणित भएर मैले यस्तो आकार ल्याएको छु भनेर आश्वस्त पार्नु हुन्छ ?'- थापाकाे प्रश्न छ ।
थापाले स्राेत व्यवस्थापनका पक्षमा पनि अर्थमन्त्रीलाई प्रश्न गर्नुभयाे । 'अर्थतन्त्र ७ प्रतिशतले बढ्दै गर्दा राजश्व २० प्रतिशत बढी वृद्धि हुन्छ भन्ने कुरा कसरी बढ्छ ? यो वर्ष राजश्वको लक्ष्य अरु वर्षभन्दा कम हुने देखिन्छ। यस्तो अवस्थामा म यति धेरै राजश्व बढाउँछु भनेर भन्दै गर्दा मलाई कसरी आश्वस्त पार्नुहुन्छ, वैदेशिक अनुदान अघिल्लो पटक ६३ अर्ब हामीले भन्यौं करिब २४ अर्ब आयो यो वर्ष ५५ अर्ब आउँछ भन्दै गर्दा यसमा कसरी आश्वस्त पार्नुहुन्छ, यो स्रोत अहिले जुन अनुमान गरिएको छ यो यथार्थपरक छ भन्ने कुराको आधार के ?'
खर्चकाे बारे पनि थापाले प्रश्न उठाउनुभएकाे छ । याे वर्ष ३ खर्ब ८० अर्ब ३८ करोड पुँजीगत खर्च अनुमान गरिएकाे भन्दै उहाँले गतवर्ष पनि ३ खर्ब ७८ अर्ब रहेकाेमा जेठ १५ सम्मको करिब ३३ प्रतिशतमात्र खर्च भएको अवस्था रहेकाे थापाले बताउनुभयाे । 'हामी त्यस्तो के कुरा नयाँ गर्छौं जसले यो वर्ष पुँजीगत खर्च अन्यभन्दा बढी हुन्छ? यो रुपान्तरणकारी हो भन्न मलाई मन छ तर, रुपान्तरणकारी हुनका निम्ति सामान्यत: हामीले बजेमा के हेर्ने हो भने सामान्य खर्च कति छुट्याइएको छ, पुँजीगत खर्च कति छुट्याइएको छ, वित्तिय व्यवसस्थापन कसरी गर्न लागिएको छ वा संघीयताका सन्दर्भका तल पैसा कति पठाइँदैछ ? गतवर्ष वा त्यो भन्दा अघि तुलना गरेर हेर्यौं भने सामान्य खर्च पुँजीगत खर्च स्थानीय सरकारलाई दिने पैसा प्रदेश सरकारलाई दिने पैसामा खासै केही फरक देखिँदैन, अर्थमन्त्रीले यो कुरामा ध्यान पुर्याउनु भयो कि भएन ?'- गगनकाे प्रश्न छ ।
देउवा सरकार हुँदा सुदूरपश्चिम र ओली सरकार हुँदा पुर्व केन्द्रित बजेट आउने जनगुनासो आएकाे पनि थापाले बताउनुभयाे । 'पूर्ववर्ती सरकारले बजेट ल्याउँदा हामीले प्रश्न गर्यौं- यो बजेटको नारा 'समृद्ध झापा, सुखी झापाली हो', यसपटक मानिसहरूको भनाइ के छ भने- पश्चिमबाट बजेट आयो, पश्चिमतिरै सकियो, यसले कोसीपारि देख्दै देखेन,सरकारका मन्त्री र दलका शक्तिशालीहरूको निर्वाचन क्षेत्रमा बजेट खन्याएको होइन भनेर कसरी भन्न सक्ने हो ? यसमा प्रष्ट पारियाेस्'- थापाले भन्नुभयाे ।
विद्युतीय सवारीमा लगाइएको करबारे प्रश्न गर्दै उहाँले भन्नुभयाे - 'ऊर्जा मन्त्रालयले योभन्दा बढीको, महँगो गाडीहरूलाई यसरी कर लगाउनुपर्छ भनेर मागेको हो वा अर्थ मन्त्रालयले गरेको हो ?,अर्थ मन्त्रालयले नीतिले कुनै एउटा समूह वा ग्रुपलाई पोस्ने काम गर्न हुँदैन ।'
काठमाडौंबाट १ घण्टामा चितवन पुग्न फास्ट ट्र्याक निर्माणको योजनाबारे भौतिक योजना तथा यातायात मन्त्रालयका कर्मचारीलाई थाहा नभएको कुरा आएकाे भन्दै त्यसमा प्रष्ट पार्न आग्रह गर्नुभयाे । 'चितवन जाने फास्ट ट्र्याकका बारेमा यातायात मन्त्रालयका कसैलाई थाहै छैन, लगानी बोर्डले पैसा जुटाए पनि योजना त भौतिक पूर्वाधार मन्त्रालयबाट सुरु हुने होला, मन्त्रालयहरूले ल्याएको कार्यक्रम समायोजन गर्ने हो कि अर्थ मन्त्रालयले कतिपय सन्दर्भमा त्यसका आधारभूत कुराहरूलाई बदल्ने हो ?' गगनकाे प्रश्न छ ।
कृषिमा बजेटले प्राथमिकता दिएकाे र व्यापार घाटा घटाउन सहि दिशा पक्रेकाे पनि थापाले बताउनुभयाे ।
