काठमाडाैं । नेकपा माओवादी केन्द्रका सांसद् गिरिराजमणि पोखरेलले स्वास्थ्य बीमा कार्यक्रम कम्पनीलाई दिने निर्णयमा आपत्ति जनाउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा बजेटमाथिकाे छलफलमाथि भाग लिँदै पूर्व स्वास्थ्यमन्त्री समेत रहनुभएका सांसद् पाेखरेलले स्वास्थ्य बीमा कार्यक्रम कम्पनीलाई दिने कुरामा आफ्नो समर्थन हुनै नसक्ने बताउनुभयो ।
'स्वास्थ्य बीमा कार्यक्रम कम्पनीलाई दिने कुरामा मेराे समर्था छैन, वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वकाे मन्त्रिपरिषद्म ८० दिन जति थिएँ, त्यतिखेर पास गरेको ऐन हो यो, अघिल्लाे प्रचण्डको नेतृत्वमा गगनजीहरुले लामाे गृहकार्य गर्नुभएको थियो र त्यसलाई हामीले सदनबाट पास गर्याैं, अहिले यसलाई कम्पनीलाई दिने भन्ने कुरा मैले कुनै काेणबाट बुझ्न सकेकाे छैन, यसलाई पुनरावलाेकन गर्न आग्रह गर्छु ।'
स्वास्थ्य बीमालाई नाफासँग जोडेर नहेर्न आग्रह गर्दै उहाँले भन्नुभयाे - 'यो युनिभर्सल कभरेजकाे कन्सेप्टबाट आएको हो, नाफा र नोक्सानकाे काेणबाट आएकाे होइन,याे सामाजिक उत्तरदायित्वसँग गाँसिएकाे कुरा हाे ।' स्वास्थ्य बीमाको लाइनमिनिस्ट्री स्वास्थ्य मन्त्रालय रहेकाे भन्दै सांसद् पाेखरेलले स्वास्थ्य बीमा कार्यक्रम अर्थ मन्त्रालयतर्फ लिन खोजिएको देखिएकाे बताउनुभयाे । साे विषयमा बृहत छलफल हुनुपर्ने उहाँकाे भनाइ छ ।
बजेटकाे बुँदा नम्बर १ सय ३९ देखि १ सय ४९ सम्मका कार्यक्रम राम्रा रहेका उहाँले बताउनुभयाे । गुणस्तरिय शिक्षालाई सबल बनाउने कुरामा बजेट चुकेकाे पनि उहाँले बताउनुभयाे । गुणस्तरिय शिक्षाका लागि सर्वप्रथम शिक्षक र प्रविधिलाई सबल बनाउनुपर्ने उहाँकाे सुझाव छ । समतामूलक, पहुँचयोग्य र गुणस्तरिय शिक्षामा बढी ध्यान दिनुपर्ने पनि सुझाव पनि सांसद् पाेखरेलले बताउनुभयाे । याेगमाया लगायत विद्यालयकाे काम सम्पन्न गर्न पनि उहाँले माग गर्नुभयाे ।
