काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) का सांसद् इकबाल मियाले अहिलेकाे सरकारले बजेटमार्फत जनतालाई लाेभ्याउने काम गरेकाे बताउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा बजेटमाथिकाे छलफलमा भाग लिँदै सांसद् मियाले सरकारकाे बजेट चुनाव केन्द्रित रहेकाे बताउनुभयाे । सत्ता पक्षकै सांसद्ले विराेध गर्नुले बजेट कस्ताे भन्ने प्रष्ट भएकाे मियाकाे भनाइ छ ।
पुराना उद्याेग सञ्चालनमा ल्याउने कुरा धेरै राम्राे कुरा भएकाे भन्दै सञ्चालनमा ल्याएर देखाउन चुनाैती दिनुभयाे । उहाँले भन्नुभयाे - 'वीरगञ्ज चिनी कारखाना,हेटाैंडा कपडा उद्याेग, जनकपुर चुराेट कारखाना विराटनगर जुटमिल, वीरगञ्ज कृषि औजार कारखाना सञ्चालन गर्ने कुरा बजेटमा छ, १ वर्षमा यी सञ्चालन भए म सरकारलाई धन्यवाद दिन्छु, तर जनतालाई लाेभ्याउने काम मात्र हाे ।'
बन्द कारखाना खाेल्छु भनेर चुनावकाे मुखमा जनतालाई लाेभ्याइएकाे भन्दै उहाँले आपत्ति जनाउनुभयाे । 'प्रधानमन्त्री र अर्थमन्त्रीज्यू म चुनाैती दिन चाहान्छु, एक वर्षभित्रमा वीरगञ्ज चिनी कारखाना र कृषि औजार कारखाना सञ्चालनमा ल्याइदिनुस्,यदि अर्काे जेठ १९ सम्म सञ्चालनमा ल्याइयाे भने म आफ्नाे चल अचल सम्पत्ति नेपाल सरकारकाे नाममा गरिदिन्छु,हाेइन भने जनता लाेभ्याउने काम नगर्नुस्'- मियाकाे चुनाैती छ ।
सांसद् मियाले प्रतिशतका आधारमा तलब वृद्धि गरेर माथिकाेलाई पाेस्ने तलकाे कर्मचारीलाई हेप्ने काम भएकाे बताउनुभयाे । तराई-मधेशमा बजेट घटाइएकाे भन्दै उहाँले मधेश र कर्णालीमा बजेट घटाउनु गरिएकाे बताउनुभयाे ।
शिक्षा क्षेत्रमा बजेट कटौती गरिएकाे सांसद् मियाले कडा आपत्ति जनाउनुभयाे । 'शिक्षामा पोहोर भन्दा कम बजेट छुट्याइएको छ, जब कि शिक्षा मेरुदण्ड हो, भौतिक पूर्वाधारको अवस्थाले गर्दा सरकारी विद्यालयमा विद्यार्थी एकदमै धेरै छन्, विद्यार्थीहरुको यस अवस्थाप्रति ध्यान दिऔं, सरकारी विद्यालयमा दलित, मधेशी, मुस्लिम, पिछडिएको, सीमान्तकृत छोराछोरी पढ्छन्, धनिका छोराछोरी त बोर्डिङ स्कुलमा पढ्छन्, यसतर्फ हाम्रो ध्यान कत्तिको गएको छ ?'- उहाँकाे प्रश्न छ ।
