काठमाडाैं । नेकपा एमालेका सांसद् गोकुल बास्कोटाले गठबन्धन सरकारले ल्याएकाे बजेट प्रचारमुखी मात्र रहेकाे बताउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा बजेटमाथिकाे छलफलमा भाग लिँदै सांसद् बास्काेटाले यसपल्ट बजेट पेस गर्दा ब्रिफकेस नफुटेको भन्दै अर्थमन्त्री जनार्दन शर्माप्रति व्यंग्य गर्नुभयाे ।
उहाँले भन्नुभयाे - 'यहाँ बजेट पेस भयो मह चाट्न पाइयो भनेर जिब्रो दल्दै गरेको देखेको छु, कोभिड सर्दैन भन्नेमा विश्वास लिएको छु, ब्रिफकेस फुटेन, जेट सुन्न पाइयो,अब कार्यान्वयन कसरी हुन्छ पर्खाइमा छौँ ।'
अर्थमन्त्री शर्माले यसअघि आफैं जारी गरेकाे श्वेतपत्रमाथि प्रतिप्रश्न गर्नेगरी बजेट ल्याएकाे सांसद् बास्काेटाले बताउनुभयाे । बजेटकाे आकारकाे वृद्धि केही अध्ययन विश्लेषण नगरी आएकाे उहाँले बताउनुभयाे ।
सांसद् बास्काेटाले भन्नुभयाे - 'गत वर्ष उहाँले बजेट प्रस्तुत गर्दा जनार्दन शर्मा भएर पेस गर्नुभएको थियो कि प्रभाकर भएर ? गत वर्ष श्वेतपत्रबाट बजेट प्रस्तुत गर्दा बजेटको विश्वसनियता, प्रचारात्मक, आकारमा काफी वृद्धि भएको भन्नुभएको थियाे, आज उहाँले जुन बजेट प्रस्तुत गर्नुभयो, त्यसले उहाँको हिजोको कुरालाई प्रतिप्रश्न गरेको छ, आजको बजेटको आकार के भएको छ ? बजेट कति प्रचारमुखी भएको छ ? कति कार्यान्वयनमुखी भएको छ ? हामीले यो कुरा भुल्न सक्दैनौं ।'
सांसद् बास्काेटाले बजेट नवउदारवादलाई प्रवर्द्धन गर्ने हिसाबले बजेटआएकाे बताउनुभयाे । 'बजेट सुन्दा कर्णप्रिर्य लाग्छ, प्रभाकरण सुन्दा कतै कतै समाजवाद सुनिन्छ ? जनार्दन सुन्दा बजेटमा कता-कता नवउदारवाद देखिन्छ साँचाे के हाे ? याे बजेट समाजवादी हाे या नवउदारवादलाई प्रवर्द्धन गर्ने हिसाबले आएकाे छ' - उहाँकाे भनाइ छ ।
बजेटकाे कर्णप्रिय कुराभित्र हवाई कल्पना रहेकाे बताउँदै उहाँले भन्नुभयाे - 'चितवन-बुटवल-पाल्पा सडक के खाँचो पर्याे हाम्रो सञ्जालमा ? नारायणगढबाट बुटवल जाने बाटो नै छ लेनको बन्दै छ, मैले सुनेको छु त्यहाँ कतै अर्थ सचिवजीको घर पर्छ, यस आधारमा बजेट निर्माण हुन्छ भने गत साल उहाँले श्वेतपत्र जारी गरेको अध्ययन पत्र खाेइ ? के अध्ययन र विश्लेषणका आधारमा यी कुराहरु अगाडि सारिएको छ ?'
बजेटमा १ लाख उद्योग स्थापना गर्ने कुरा सुन्दा जी-७ र जी-२० का नेताहरु पनि थरथर काँप्ने टिप्पणी गर्दै उहाँले भन्नुभयाे - '५ महिने सरकारले २५ वर्षको कल्पना गरेर बजेट ल्यायो, बजेटमा भएका हवाई कल्पना सायद नासा र रस्कोमसले पनि गर्न सक्दैनन् ।'
बजेटमा थुप्रै कुराहरु बिना अध्ययन आधारहीन तरिकाले भन्दै सांसद् बास्काेटाले वस्तुगत आवश्यकता र विद्यमान समस्या के हुन् भन्ने कुराको ख्याल नगरेर बजेट ल्याइएको बताउनुभयाे । बजेट चुनावमुखी र भोटरलाई प्रभावित गर्ने खालको भएकाले यसले चमत्कार गर्न नसक्ने बताउँदै बास्काेटाले भन्नुभयाे - 'चुनाव र भोटरलाई प्रभावित गर्न ल्याइएको यो बजेट बेतुकको छ, यो प्रचारात्मकको पनि प्रचारात्मक हो र यसले कुनै जादुमय चमत्कार गर्न सक्दैन ।'
उहाँले ७ लाख मेट्रिक टम मल आवश्यक भएको अवस्थामा २२ मेट्रिक टन मलले केही पनि नहुने बताउनुभयाे । बजेटमा कृषि र किसानलाई प्राथमिकता दिने भनिए पनि भूमि सम्बन्धी नीति नै नभएको बताउँदै गाेकुलले प्रश्न गर्नुभयाे - 'विदेशीलाई फ्ल्याट बिक्री गरेर किसानको विकास कसरी हुन्छ ?'
म्यादी प्रहरीबारे पनि बास्काेटाले प्रश्न उठाउनुभयाे । उहाँले भन्नुभयाे - 'म्यादी प्रहरीलाई कुन कानुनमा टेकेर औद्योगिक बल स्थापना गर्ने हो ? यो चुनावलाई प्रभावित गर्ने नियत मात्रै हो हाेइन ?'
