काठमाडाैं । नेपाली कांग्रेसकी सांसद् पुष्पा भुसालले बजेटलाई राजनीतिकरण गर्न खाेजिएकाे आराेप लगाउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा बजेटमाथिकाे छलफलमा भाग लिँदै सांसद् भुसालले प्रतिपक्षी दलले बजेटलाई राजनीतिकरण गरेका आराेप लगाउनुभयाे । सरकारले सबै क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएकाे उहाँकाे भनाइ छ ।
अहिलेकाे परिस्थितिमा आँटिलाे बजेट आएकाे समेत सांसद् भुसालले बताउनुभयाे । 'अर्थतन्त्रका सबै क्षेत्रलाई समेटेर बजेट ल्याइएकाे छ, निर्यात बढाउने र आयात घटाउने यसकाे उद्देश्य छ,अर्थतन्त्रलाई माथि उकास्ने धेरै कार्यक्रम बजेटमा छन्'-उहाँले बताउनुभयाे ।
मुलुककाे आवश्यक धेरै भएकाले बजेटमा पनि कार्यक्रम धेरै भएकाले कार्यान्वयनमा केही चुनाैती रहेकाे सांसद् भुसालले बताउनुभयाे । बजेट कार्यान्वयका लागि प्रक्रिया थालिहाल्नुपर्ने सुझाव छ ।
बजेटले आर्थिक फड्काे मार्ने भन्दै उहाँले स्वदेशी उत्पादनमा जाेड दिने कार्यक्रम बजेटमा राखिएकाे दाबी गर्नुभयाे । कृषिलाई प्राथमिकतामा राखिएकाे भन्दै उहाँले अर्थमन्त्रीकाे प्रशंसा गर्नुभयाे । प्रधानमन्त्री राेजगार कार्यक्रम परिमार्जन गरिएकाेमा पनि उहाँले खुशी व्यक्त गर्नुभयाे ।
राष्ट्र बैंकले लगानी कर्तालाई सडकमा आउने गराएकाे भन्दै उहाँले यसमा ध्यान दिन अर्थमन्त्रीलाई सुझाव दिनुभयाे । मूल्यवृद्धि र तलव वृद्धिले जनतालाई मार पार्न नहुने बताउनुभयाे ।
