काठमाडाैं । प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षकाे बजेटमाथिकाे बिहीबार पनि छलफल भएकाे छ ।
तर बिहीबारकाे बैठकमा अनाैठाे दृश्य देखियाे । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद्ले बजेटमाथि प्रश्न राख्दा सत्ता पक्षका एक जना पनि सांसद् देखिएनन् । सत्ता पक्षका सांसद् बस्ने सबै कुर्सी खाली देखिए ।
एमाले सांसद् नवराज रावतले बजेटमाथि बाेलिरहँदा सत्ता पक्षका एक जना सांसद् पनि देखिएनन् । रावतले बाेल्दै गर्दा एमाले सचेतक शान्ता चाैधरी बाेल्न खाेज्नुभयाे तर उहाँलाई माइक दिइएन । राउतकाे समय सकियाे माइक काटियाे ।
सभामुखकाे ड्यासमा बस्नुभएकी सांसद् राधा ज्ञवालीले धैर्य गर्न आग्रह गर्नुभयाे । उहाँले भन्नुभयाे - 'माननीय ज्यूहरु धैर्यधारण गर्नुस्,वाथरुम जानुभएकाे भन्ने आकाे छ आउँदै हुनुहुन्छ ।'
सत्ता पक्षबाट शिक्षामन्त्री देवेन्द्र पाैडेल मात्रै बैठकमा हुनुहुन्थ्याे । उहाँ पनि शाैचालयतिर गएपछि सत्ता पक्षका सांसद् बस्ने कुर्सी पूरै खाली देखिएका हुन् । शिक्षामन्त्री आएपछि एमाले सांसद् गंगा चाैधरीले बजेटमाथि आफ्नाे विचार राख्नुभयाे ।
