काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्ने भएको छ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्ने बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेटमाथि सांसद्हरुले उठाएकाे प्रश्नकाे जवाफ दिने कार्यक्रम छ । अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९-०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको संघीय संसद् सचिवालयले जनाएकाे छ ।
बैठकमा अर्थमन्त्री शर्माले नै 'विनियोजन विधेयक, २०७९' र 'राष्ट्र ऋण उठाउने विधेयक, २०७९' लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । उहाँले 'राष्ट्र ऋण उठाउने विधेयक, २०७९' प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
अर्थमन्त्री शर्माले नै 'ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक, २०७९' लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । 'ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक, २०७९' पनि अर्थमन्त्रीले प्रस्तुत गर्नुहुनेछ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री श्री गोविन्द प्रसाद शर्मा (कोइराला)ले 'यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९' लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुहुने संसद् सचिवालयले जनाएकाे छ ।
कानुनमन्त्रीले 'यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९' पेस गर्नुहुनेछ । कानुनमन्त्रीले नै 'फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९' लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । 'फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९' पेस गर्नुहुनेछ कार्यसूची छ ।
बैठक प्रमुख प्रतिपक्षी नेकपा एमालेले जरुरी सार्वजनिक महत्वकाे प्रस्ताव पेस गर्ने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले पेट्राेलिय पदार्थ लगायतकाे मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै साे प्रस्ताव पेस गर्न लाग्नुभएकाे हाे ।
'अर्थतन्त्रका प्रमुख परिसुचकहरुप्रति सरकारले यथेष्ट ध्यान पुर्याउन नसक्दा जनताको जनजिविकासँग जोडिएका खाद्यान्य लगायत अन्य उपभोग्य वस्तुहरुको व्यापक मुल्य वृद्धि भएको छ, सरकारले मुद्रास्फितिलाई रोक्नुको सट्टा दिनादिनु खाना पकाउने ग्यास, डिजेल, पेट्रोल, मट्टितेल लगायतका जनताको जिवनसँग जोडिएका पेट्रोलियम पदार्थको मुल्य स्वचालित रुपमा पन्ध्र दिनमा एकपटक समायोजन गर्न सक्ने प्रावधान विपरित बढाएको छ, पेट्रोलियम पदार्थको मुल्य बढ्दा यसले पार्ने बहुआयामिक असर सम्बन्धमा कुनै विश्लेषण गरिएको छैन, पेट्रोलियम पदार्थको मुल्य समायोजन कसरी गर्न सकिन्छ भनेर प्रतिपक्ष दल एवं सम्बन्धित क्षेत्रका विज्ञसँग छलफल नगरी निजीकरणको कुरा उठाउनु असान्दर्भिक, गैर जिम्मेवार र वेमौसमी छ, नेपालको संविधानले सम्मानपूर्वक बाँच्न पाउने हकको व्यवस्था गरेपनि मुल्यवृद्धिका कारण निम्न वर्ग र कमजोर आयस्रोत भएका मानिसहरुलाई जीवन जीउन गाह्रो परिरहेको छ, जनताको आधारभुत आवश्यकता परिपूर्ति गर्ने कल्याणकारी राज्यको प्राथमिक र सर्वाधिक महत्वपूर्ण दायित्वको सुनिश्चित गर्न तत्काल पेट्रोलियम पदार्थको मुल्य घटाउने स्पष्ट खाका पेस गर्न सरकारलाई झकझक्याउन संसदले पहल गर्न अत्यावश्यक भएकोले' भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव भट्टराईले प्रस्तुत गर्न लाग्नुभएकाे हाे ।
साे प्रस्तावलाई यज्ञराज सुनुवार, गणेश कुमार पहाडी र राजेन्द्र प्रसाद लिङ्देनले समर्थन गर्नुहुनेछ ।
