काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबारे छानबिन गर्न संसदीय समिति बनाउन माग गरेकाे छ ।
शुक्रबार बसेकाे प्रतिनिधि सभा बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि सम्बन्धमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले मूल्यवृद्धिको छानबिनका लागि संसदीय समिति बनाउन माग गर्नुभएकाे हाे ।
त्यस्ताे समितिले मूल्यवृद्धि घटाउन र अब बढ्न सक्ने खतराबाट मूल्यवृद्धिलाई नियन्त्रण गर्नका लागि सुझाव पेस गर्ने प्रमुख सचेतक भट्टराईले बताउनुभयाे । कमिसनको सेटिङमा पेट्रोलियम पदार्थको आयात गर्न निजी क्षेत्रलाई दिइन लागेकाे विषय चर्चामा रहेकाे भन्दै उहाँले सरकारसँग माग गर्नुभयाे ।
'आयल निगमले गरेको पेट्रोलियम पदार्थको आयातको कामलाई निजी क्षेत्रलाई दिने काम असाध्यै ठूलो कमिसनको सेटिङमा आधारित छ भनेर मान्छेहरूले व्यापक रूपमा बजारमा भनिरहेका छन्, यसको जवाफ के छ ? म मन्त्रीज्यूसँग र सरकारसँग सोध्न चाहन्छु ।' पेट्रोलियम पद्धार्थको आयात गर्न निजी क्षेत्रलाई दिने सम्बन्धमा कुनै ऐन, कानून नभएको भन्दै भट्टराईले प्रश्न गर्नुभयाे - 'कुन आधारमा दिन लागिएको ?'
एमाले सचेतक शान्ता चाैधरीले पनि पेट्राेलियम लगायतकाे मूल्यवृद्धि राेक्न संसदीय समिति बनाउन माग गर्नुभयाे । सर्वहाराकाे कुरा उठाउने गठबन्धन दलहरुले मूल्यवृद्धिबारे बाेल्न नसकेकाे शान्ताले बताउनुभयाे ।
