काठमाडाैं । नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले तत्काल मूल्यवृद्धि राेक्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि घटाउन माग गर्दै शुक्रबार प्रतिनिधि सभामा पेस गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव माथिको छलफलमा भाग लिँदै सचेतक भुसालले गरिब जनता मूल्यवृद्धिकाे मारमा परेकाे भन्दै आफ्नै पार्टी नेतृत्वकाे सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
पेट्राेलियम पदार्थमा भाउ प्रतिलिटर १० रुपैयाँ घटाउनु स्वागतयाेग्य रहेकाे बताउँदै उहाँले भन्नुभयाे - 'मूल्यवृद्धिबारे म नेपालका सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु, हिजो १० रुपैयाँ टयाक्स घटाएको जुन निर्णय भएको छ त्यसलाई सकारात्मक रुपमा लिएको छु र यो घटाउने क्रमलाई निरन्तरता दिइयोस् भनेर पनि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।'
रुस-युक्रेन युद्धका कारण पनि नेपाली जनता पेट्रोलियम पदार्थको कारण मूल्यवृद्धिको मारमा पर्नु परेको दाबी गर्दै उहाँले त्यसलाई नियन्त्रण गर्न सरकारले जलविद्युत, सौर्य ऊर्जा लगायत उर्जा क्षेत्रको विकासमा विशेष ध्यान दिनुपर्ने सुझाव दिनुभयाे । मूल्यवृद्धिबारे अध्ययन गर्न गठित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल नेतृत्वको समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्न पनि उहाँले सरकारसँग माग गर्नुभयाे ।
