काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि विनियाेजित बजेट महत्वकांक्षी नभएकाे दाबी गर्नुभएकाे छ ।
बजेटमाथिकाे उठेका प्रश्नकाे शुक्रबार प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै मन्त्री शर्माले वास्विकताकाे धरातलमै टेकेर बजेट ल्याइएकाे दाबी गर्नुभयाे । आन्तरिक ऋणको साँवा बुझाउनुपर्ने भएर चालु खर्चको बजेट बढेको उहाँले बताउनुभयाे ।
बजेटमा आन्तरिक उत्पादनलाई अधिक जोड दिइएको,आयात घटाउने र निर्यात बढाउने कुरामा जाेड दिइएकाे मन्त्री शर्माकाे दाबी छ । उत्पादन वृद्धि गरेर आर्थिक समस्यालाई सम्बोधन गर्ने उद्देश्य बजेटले लिएकाे पनि उहाँले बताउनुभयाे ।
सबै क्षेत्रका विज्ञहरूको सल्लाह लिएर बजेट निर्माण गरेकाे दाबी गर्दै उहाँले भन्नुभयाे - 'बजेट निर्माण गर्दा अत्यन्तै संयमता अपनाएको छु, अनुशासनभित्र रहेर बजेटकाे साधन र स्रोतको विनियोजन गरेको छु ।'
प्रमुख प्रतिपक्षतर्फ लक्षित गर्दै मन्त्री शर्माले ५ महिनाका लागि बजेट ल्याउनुपर्ने कानुनी प्रावधान नभएकाे बताउनुभयाे । आगामी चुनावपछि बन्ने सरकारले नै याे बजेट कार्यान्वयन गर्ने उहाँले बताउनुभयाे । 'संविधानमा यति महिनाको मात्र बजेट बनाउने भन्ने छैन, हरेक सरकारले जस्तोसुकै अवस्थामा पनि वार्षिक बजेट नै पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ,संविधानमा ५ महिनाको लेखेको भए त्यसै गर्न हुन्थ्यो,त्यसर्थ यो वार्षिक बजेट नै हो'-मन्त्री शर्माकाे भनाइ छ ।
सबै वर्गलाई लक्षित गरेर बजेटमा कार्यक्रम समेटिएकाे पनि उहाँले बताउनुभयाे । भूमि बैंकलाई ओझेलमा नपारिएकाे दाबी पनि उहाँले बताउनुभयाे । बजेटले स्थानीय तहकाे अधिकार कटाैती नगरेकाे पनि उहाँले बताउनुभयाे ।
