काठमाडाैं । प्रतिनिधि सभाको आजको दोस्रो बैठकले विनियोजन विधेयक ०७९ माथि विचार गरियोस भन्ने प्रस्ताव स्वीकृत गरेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले “विनियोजन विधेयक, २०७९ माथि विचार गरियोस्” भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो ।
विधेयकको सैद्धान्तिक छलफलमा सहभागी हुँदै सांसद शेरबहादुर तामाङले विनियोजन विधेयकमाथि पुनःविचार गरिनुपर्ने आवश्यकता औँल्याउदै बजेटको सैद्धान्तिक पाटो र कार्यान्वयनको विषयमा स्पष्ट हुनुपर्ने धारणा राख्नुभयो । उहाँले विनियोजनमा अझै नयाँ ढंगले सोच्न आग्रह गर्नुभयो । सांसद देवप्रसाद गुरुङले विधेयक समग्रतामा राम्रो ढङ्गले आएकाले सफल कार्यान्वयनको अपेक्षा गर्नुभयो ।
सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले अर्थ मन्त्रालय आफँैले बजेट नकाट्ने तर मन्त्रालय आफैंले खर्च गर्न नसकेपछि रकमान्तरण गर्नुपरेको स्पष्ट पार्नुभयो । उहाँले विकास र राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनको सम्बन्धमा राष्ट्रिय सहमतिका साथ जानुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो ।
सभामुख अग्निप्रसाद सापकोटाले विनियोजन विधेयक, ०७९ को विभिन्न मन्त्रालय एवम् सचिवालय अन्तर्गतका विभिन्न शीर्षकमाथि हुने छलफल गर्न र सम्बन्धित मन्त्रीले उठेका प्रश्नको जवाफ दिन यही जेठ २३, २४, २५, २६ र २७ गतेको दिन तोक्नुभएको छ ।
त्यसैगरी बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले “यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, ०७९ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुभयो । विधेयकको सैद्धान्तिक छलफलका लागि सहभागी सांसद विन्दा पाण्डे, डिला संग्रौला पन्त, विमला विकलगायतले बोल्नुभएको थियो ।
यसअघि दोस्रो वैठकको सुरुमा बोल्दै सांसद आशाकुमारी विकले बझाङ शुर्मा गाउँपालिका–१ निवासी सिन्की बोहोरा यार्सागुम्बा टिप्नको लागि लेक गएका बेला धनशेरी हिमालको फेदीमा हिमपहिरोमा पुरिएर वेपत्ता भएकाले बोहोराको उद्धारका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रतिनिधिसभाको अर्को बैठक जेठ २३ गते बिहान ११ बजे बस्नेछ ।
–रासस
