काठमाडौं । मधेस प्रदेश सरकारले सरकारको नीति तथा कार्यक्रम ल्याएको छ । आइतबारको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । मानवीय क्षमता विकास, पूर्वाधार निर्माण, उद्यमशीलता र रोजगारी अभिवृद्धि, गरिबी न्यूनीकरण, दिगो विकास तथा पर्यावरण संरक्षण र सुशासनको प्रत्याभूतिलाई प्रदेश सरकारको नीति तथा कार्यक्रमको प्राथमिकतामा राखिएको छ । सार्वजनिक क्षेत्रको अनुत्पादक खर्चलाई निरुत्साहित गर्दै उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने नीति प्रदेश सरकारले लिने नीति तथा कार्यक्रममा उल्लेख छ । कृषि र पशुका कार्यक्रमलाई सरकारको नीति तथा कार्यक्रमको प्राथमिकतामा राखिएको छ । प्रदेश भित्रका जिल्लाका सदरमुकामहरूलाई “हरित सहर स्वच्छ सहर” को रूपमा विकसित गर्न सघन कार्यक्रम सञ्चालन गरिने भएको छ। चुरे जलाधारको उपल्लो तट र प्रभावित तल्लो तटबिचको अन्योन्याश्रित सम्बन्ध कायम गर्न नदी प्रणालीमा आधारित योजना तर्जुमादेखि कार्यान्वयनसम्म संघ, प्रदेश र स्थानीय तहबिच सहकार्य र समन्वय गर्ने रणनीति लिइने निती तथा कार्यक्रममा उल्लेख छ । “पूर्ण सुरक्षित मातृत्व प्रदेश“, “पूर्ण खोप युक्त प्रदेश” र “कुपोषण मुक्त प्रदेश“ बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको जनाइएको छ । मलेरीया, फाइलेरीया, कालाजार, क्षयरोग, कुष्ठरोग, डेंगु लगायतका रोगहरूको रोकथाम, नियन्त्रण एवं निवारणका लागि नियमित प्रभावकारी कार्यक्रमहरू समुदाय स्तरसम्म सञ्चालन गर्ने नीति सरकारले लिने भएको छ । “एक निर्वाचन क्षेत्र एक सडक” कार्यक्रम अन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा ५/५ कि.मि. सडक कालोपत्रे गरिने कार्यलाई निरन्तरता दिइने भएको छ। नीति तथा कार्यक्रमको पूर्ण पाठ: प्रदेश सभाको बैठकमा
माननीय प्रदेश प्रमुख श्री हरिशंकर मिश्रज्यूद्वारा
