काठमाडौं । मंगलबारको प्रतिनिधि सभा बैठकमा गृह मन्त्री बालकृष्ण खाँडले बर्दियामा आदेश नै नदिई सुरक्षाकर्मीले गोली चलाएको बताए पछि सांसदले प्रश्नको ओइरो बर्साएका छन् । बर्दियामा बाघको आक्रमणमा एक बालिकाको ज्यान गएपछि स्थानीयले सडक अवरुद्ध गरी आन्दोलन गरेका थिए । सडकको अवरोध हटाउने क्रममा प्रहरीले चलाएको गोली लागि एक बालिकाको ज्यान गएको थियो । सो घटनाको विषयमा प्रतिनिधि सभामा सांसदहरुले सरकारको धारणा मागेपछि गृहमन्त्रीले आदेश विना नै सुरक्षाकर्मीले गोली चलाएको जवाफ दिनुभएको थियो । सो जवाफसँग असन्तुष्ट बनेका सांसदले पुनः स्पष्टीकरणको समय माग गर्नुभएको थियो । सभामुखले समय उपलब्ध गराएपछि प्रतिनिधि सभा सदस्य गङ्गा चौधरीले थारु गाउँमा लाठी भन्दा बढी किन गोली चल्छ ? भन्दै प्रश्न गर्नुभयो । खगराज अधिकारीले विना आदेश गोली चलाउने व्यक्ति माथि सरकारले कारबाही गर्यो कि गरेन ? भन्दै प्रश्न गर्नुभयो । सांसद् विमला विकले आदेश विना नै गोली चलाउने हाम्रो प्रहरी छाडा भएको हो त ? भन्दै प्रश्न गर्नुभयो । सांसद सूर्यप्रसाद पाठकले सो घटनामा आम जनतासँग गृहमन्त्रीले माफ माग्नु पर्दैन ? भन्दै प्रश्न गर्नुभयो । सांसद शेरबहादुर तामाङले जसले चलाए पनि गोली चलको नैतिक जिम्मेवारी सरकारले लिनु पर्दैन ? भन्दै प्रश्न गर्नुभयो । यसै गरी सांसद् भीम रावलले अछाममा एक किशोरको हत्या गरिएको घटनाको जाहेरी लिइयो कि लिइएन ? भन्दै प्रश्न गर्नुभयो । अर्का सांसद यज्ञबहादुर बोगटीले अछाम घटनामा हत्या भएको नौ दिनसम्म स्थानीय प्रशासनले जाहेरी लिएको छैन किन ? भन्दै प्रश्न गर्नुभयो । सांसद् गगन थापाले अछामको घटना निन्दनीय भएको भन्दै दोषी जो भए पनि कारबाही गर्नुपर्ने माग गर्नुभयो । सांसद् लालबहादुर थापाले बुढीगंगा नगरपालिकामा शान्तिपूर्ण निर्वाचन भइरहेको बेला कसको निर्देशनमा सुरक्षाकर्मी फिर्ता गराइएको हो ? भन्दै प्रश्न गर्नुभयो । सांसदहरूको प्रश्नको वर्षा भएपछि गृहमन्त्री खाँडले थारु समुदाय नेपालको महत्पूर्ण पृष्ठभूमि बोकेको र संस्कृतिलाई जीवन्त राखेको समुदाय भएको बताउनुभयो । उहाँले गोली चल्नु आफैमा दुःखद भएको बताउनुभयो । खाँडले आदेश विना गोली चलाउने सुरक्षाकर्मीलाई छानबिन गरेर कारबाही गरिने बताउनुभयो । यसै गरी अछामको हत्याकाण्डमा जाहेरी लिएर कारबाही अघि बढाउन निर्देशन दिएको उहाँले बताउनुभयो । तर दोषी नउम्कियोस् र निर्दोष कोही पनि नपरोस् भन्ने विषयमा सचेत हुनु पर्ने उहाँले बताउनुभयो । निर्वाचन रोक्ने वा कहिले गर्ने भन्ने निर्णय गर्ने अधिकार निर्वाचन आयोगलाई भएको बताउँदै सरकार र सुरक्षा निकायले त्यसको लागि आवश्यक सहयोग मात्र गर्ने उहाँले प्रष्ट पार्नुभयो ।
गृह मन्त्रीको लाचार जवाफपछि प्रतिनिधि सभा बैठकमा प्रश्नको ओइरो
काठमाडौं । मंगलबारको प्रतिनिधि सभा बैठकमा गृह मन्त्री बालकृष्ण खाँडले बर्दियामा आदेश नै नदिई सुरक्षाकर्मीले गोली चलाएको बताए पछि सांसदले प्रश्नको ओइरो...
SUNRISE KHABAR
2 min read
