काठमाडौं । प्रतिनिधि सभा सदस्य लक्ष्मणलाल कर्ण सरकारको बजेट तथा कार्यक्रम अध्ययन नै गर्न नदिई छलफलमा ल्याएको भन्दै आलोचना गर्नुभएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा विभिन्न मन्त्रालयमा विनियोजन गरेको बजेट माथिको छलफलमा भाग लिँदै सांसद कर्णले विकास गर्नको लागि प्रधानमन्त्री वा मन्त्री नै हुनु पर्ने बताउनुभयो । ‘विकास गर्नको लागि प्रधानमन्त्री हुनुपर्यो, उपप्रधानमन्त्री हुनु पर्यो वा मन्त्री हुनुपर्यो, त्यही भयो भने मात्र आफ्नो जिल्लामा विकास हुन्छ, नत्र हुँदैन’, कर्णले भन्नुभयो । उहाँले यदि यस्तै हो भने प्रधानमन्त्री र मन्त्री बेहक अरूलाई हटाइ दिए हुने बताउनुभयो । सांसदलाई पढ्दै नपढी किताब छुने बित्तिकै सबै कुरा थाहा पाउने कालिदास बनाउने काम गरिएको उहाँले टिप्पणी गर्नुभयो । कर्णले सरकारले सांसदकै अपमान गरेको बताउनुभयो । सरकारको बजेट तथा कार्यक्रम आएपछि त्यसमा कुनै परिमार्जन नहुने भएकोले त्यस माथि सुझाव दिनुको कुनै अर्थ नभएको उहाँले प्रष्ट पार्नुभयो । कर्णले बजेट ल्याउनु भन्दा पहिला नै सांसदसँग छलफल गर्न सुझाव दिनुभयो । श्रम मन्त्रालयले वैदेशिक रोजगारीमा गएका युवाको समस्या बुझ्न नसकेको बताउनुभयो । देशमा नै रोजगारी सिर्जना गर्न नसक्दा लाखौँ युवा विदेशिएको उहाँले बताउनुभयो । ‘रोजगार मन्त्रालयले रोजगारी सिर्जना गरोस्, उहाँले सुझाव दिनुभयो । कर्णले सानो सानो तालिम दिएर दक्ष जनशक्ति उत्पादन गर्न सकिने बताउनुभयो । त्यस्तो तालिम प्राप्त जनशक्ति नेपालमा नै लाखौँ आवश्यक रहेको उहाँले प्रष्ट पार्नुभयो । बजेट सत्यनारायणको पूजा जस्तै भएको उहाँले बताउनुभयो । पूजामा देवतालाई अक्षता चढाए जस्तै बजेटले यसो अक्षता चढाउने काम गरेको उहाँको टिप्पणी छ । कर्णले जंगली जनावरले मान्छे मार्दा केही नहुने मान्छेले जंगली जनावर मार्यो भने जेल बस्नु पर्ने कस्तो देश भन्दै प्रश्न गर्नुभयो । आफैँले आफ्नो जग्गामा उत्पादन गरेको रुख बेच्न समेत नसकिने अवस्था रहेको उहाँले गुनासो गर्नुभयो । जंगल भित्र बसोबास गरिरहेको थारु बस्तीले सरकार छ भन्ने कुरा कहिल्यै अनुभूत गर्न नपाएको उहाँले बताउनुभयो ।
जिल्लाको विकास गर्न प्रधानमन्त्री वा मन्त्री नै हुनुपर्छ : लक्ष्मणलाल कर्ण
काठमाडौं । प्रतिनिधि सभा सदस्य लक्ष्मणलाल कर्ण सरकारको बजेट तथा कार्यक्रम अध्ययन नै गर्न नदिई छलफलमा ल्याएको भन्दै आलोचना गर्नुभएको छ । प्रतिनिधि...
SUNRISE KHABAR
1 min read
