काठमाडाैं । डा.अमरेश कुमार सिंहले श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकाे नाम मान्छे बेच्ने मन्त्रालय राख्नुपर्ने बताउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा बजेटमाथिकाे छलफलमा भाग लिँदै सांसद् सिंहले साे कुरा बताउनुभएकाे हाे । यस्ताे नाम राख्नुकाे कारण खुलाउँदै सिंहले भन्नुभयाे - 'किनभने नेपालमा गणतन्त्रपछि सबैभन्दा धेरै मान्छे बेच्ने काम भयाे, नेपालमा मात्रै वैदेशिक राेजगार कम्पनीकाे लाइसेन्स दिइन्छ र त्यसमा सय जना मानिस बेच्याे बाहिर पठायाे भने मात्रै रिन्यु हुन्छ भनिन्छ, सय जना मानिस बेच्नै पर्याे,बस्नै नदिने ।'
श्रम मन्त्रालय मन्त्रालय नभएर मान्छे बेच्ने कम्पनी रहेकाे उहाँकाे भनाइ छ । युवाहरु विदेश जाउ भनेर संविधान नै संशाेधन गर्नुपर्ने भन्दै उहाँले सरकारप्रति व्यंग्य गर्नुभयाे । 'संविधान संशाेधन गराैं, १८ देखि ५० वर्षका युवायुवती नेपाल बसे भने उनीहरुलाई काेरा हानिन्छ जेल हालिन्छ त्यसकारण खुरुक्क विदेश गइहाल'-सिंहकाे भनाइ छ । युवाहरु विदेश पठाएर बुढाहरुले देश चलाउने अवस्था रहेकाे भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयाे ।
देश नेपाली जनताकाे भएकाे भन्दै उहाँले जनताका समस्या समाधानमा ध्यान दिन सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । नेपालकाे काठ खेर गइरहेकाे तर सरकारले विदेशबाट काठ आयात गरेकाेमा पनि उहाँले आपत्ति जनाउनुभयाे । नेपालकाे असली सखुवा काठ पाइन्छ भनेर बाेर्डरमा तस्करीकाे काठ पुग्ने गरेकाे अवस्था रहेकाे पनि उहाँले बताउनुभयाे ।
पाेखरा विमानस्थलकाे नाम भ्रष्टाचार विमानस्थल राख्न सुझाव पनि उहाँले दिनुभयाे । मधेश प्रदेशलाई सरकारले कम बजेट छुट्याएकाे भन्दै उहाँले आपत्ति जनाउनुभयाे । उहाँले पच्नेजति झुठ बाेल्न समेत उहाँले बताउनुभयाे । सरकार जनतामारा सरकार रहेकाे समेत सिंहले बताउनुभयाे ।
