काठमाडाैं । नेकपा एमालेका सांसद् कृष्णगाेपाल श्रेष्ठले काठमाडाैंकाे फाेहाेर तत्काल उठाउन सरकारकाे ध्यानाकर्षण गर्नुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा समय लिएर बाेल्दै सांसद् श्रेष्ठले तत्काल फाेहाेर व्यवस्थापन गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ । गम्भीर विषयमा सरकार चुप लागेकाे बसेकाे भन्दै उहाँले प्रश्न गर्नुभयाे - 'याे गम्भीर विषय हाे, यस विषयमा सरकारले के हेरिरहेकाे छ, सरकारकाे आधिकारिक धारणा के हाे ? अब फाेहाेर कहिले उठ्छ ? तत्काल फाेहाेर उठ्छ कि उठ्दैन ? सरकारकाे तालुकदार मन्त्रालयलाई सभामुखकाे रुलिङ चाहान्छु याे फाेहाेर कहिले उठ्छ,अब काठमाडाैंबासी चुप लागेर बस्ने छैनन् ।'
काठमाडाैं दुर्गन्ध र फाेहाेरले आक्रान्त बनेकाे भन्दै उहाँले काठमाडाैंबासी पीडित भएका बताउनुभयाे । अन्तर्राष्ट्रिय स्तरमा समेत नेपालकाे बेइज्जत भएकाे सांसद् श्रेष्ठले बताउनुभयाे । काठमाडाैंका गल्ली गल्लीमा फाेहाेरकाे पहाड बनेकाे बताउँदै सांसद् श्रेष्ठले भन्नुभयाे - 'फाेहाेर राष्ट्रिय समस्या हाे,हामी अहिले वद्नाम भइरहेका छाैं, कूटनीतिक नियाेगहरुले काठमाडाैं अहिले फाेहाेर छ, सम्भावित संक्रमणबाट बच्न शहर-बजारमा ननिस्कन आन्तरिक सर्कुलर गरेकाे मैले सुनेकाे छु ।'
स्थानीय तह चुनावकाे लागि उम्मेदवार छानिएकाे दिनदेखि नै काठमाडाैंकाे फाेहाेर उठ्न छाडेकाे भन्दै उहाँले चुनाव भएर परिणाम आएकाे लामाे समय बितिसक्दा पनि फाेहाेर नउठेकाे उहाँले बताउनुभयाे ।
काठमाडाैं महानगर, शहरी विकास मन्त्रालय र काठमाडाैं महानगरबीच सहमति भएकाे भन्ने सुनिएकाे भन्दै उहाँले साे विषय कार्यान्वयन हुनुपर्ने बताउनुभयाे । सरकारले पीडितका समस्या समाधान गर्नुकाे सट्टा बल प्रयाेग गरेकाेमा आपत्ति जनाउँदै सांसद् श्रेष्ठले भन्नुभयाे -'फाेहाेर लगेर जाँदा ल्याण्डफिल साइटमा जनस्तरबाट त्यसकाे विराेध भइरहेकाे सुनिएकाे छ,जनताले त्यहाँ फाेहाेर फाल्न नदिनेका भनेका छैनन्, सरकारसँग हाम्रा केही भनाइ छन्, सुनिदिनुपर्याे, तर सरकारले भनाइ सुन्नु भन्दा बल प्रयाेग गरेकाे छ फाेहाेर फाल्ने प्रयास गरियाे,हिजाे सामान्य घटना भएकाे छ,त्याे आफैं दु:खद छ ।'
तत्कालका लागि फाेहाेर व्यवस्थापन गरेर दीर्घकालीन रुपमा साेच्न सांसद् श्रेष्ठले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । 'अब धेरै दिन काठमाडाैंबासीले सहन सक्ने स्थिति छैन, याे फाेहाेर तत्काल उठ्नुपर्छ र व्यवस्थापन हुनुपर्छ,तत्काल समाधान भनेकाे फाेहाेर उठाउने र सम्बन्धित ठाउँमा लगेर फाल्ने, दीर्घकालीन रुपमा एउटा विद्युतीय मेसिनबाट यसलाई स्थायी रुपमा समाधान नगरे यस्ताे समस्या आइरहने भयाे ।'
