काठमाडाैं । प्रतिनिधि सभामा गृहमन्त्री बालकृष्ण खाँडकाे राजीनामा मागिएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद्हरुले गृहमन्त्रीले राजीनामा मागेका हुन् । हत्या र बलात्कारका घटना बढेका र शान्ति सुरक्षाकाे अनुभूति हुन नसकेकाे भन्दै सांसद्हरुले गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए ।
प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै नेकपा एमालेकी सांसद् आशाकुमारी विकले जगन्य अपराधका घटना दिनानुदिन बढिरहँदा पनि गृहमन्त्री टुलुटुलु हेरेर बसेकाे बताउनुभयाे । 'जगन्य अपराधलाई टुलुटुलु हेरेर गृहमन्त्री ज्यू बस्नुभएकाे छ, यदि जनतालाई शान्ति सुरक्षा दिन नसक्ने बालिकाकाे सुरक्षा गर्न नसक्ने अवस्था हाे भने यस्ताे घटनाहरु टुलुटुलु हेरेर बस्नुभन्दा गृहमन्त्रीले तुरुन्त गृहमन्त्रीज्यूले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ, हाेइन भने शान्ति सुरक्षा कायम गरेर देशका जनतालाई सरकार भएकाे अनुभूति गराउनुपर्छ ।'
छाेरीहरु कहिँकतै सुरक्षित नरहेका बताउँदै सांसद् विकले भन्नुभयाे - 'छाेरीले जन्म लिनु नै पाप हाे त ? दिनानुदिन सुनिनसक्नु-हेरिनसक्नु घटना भएका छन्, हिजाे मात्र ७ वर्षकी बालिका गृष्म विक ४ दिनमा मृत भेटिएकी छिन, स्कुल हिँडेकाे पसल हिँडेकाे बालिका फर्कने नै ग्यारेन्टी नै छैन, शान्ति सुरक्षाकाे प्रत्याभूति हुन सकेन, बर्थे मनाउन गएकी बालिका सामूहिक बलात्कारमा परेकी छिन्,कारागारमा सुन्दर हरिजनकाे मृत्यु भएकाे छ ।'
एमालेकी सांसद् गंगा चाैधरीले पनि गृहमन्त्रीकाे राजीनामा माग गर्नुभएकाे छ । कैयाैं घटना हुँदा पनि गृहमन्त्रीले चार साताभित्र चार वटा घटनाकाे मात्र जवाफ दिएकाे बताउनुभयाे । यसबाट निकम्मा गठबन्धन सरकार असफल भएकाे पुष्टि भएकाे भन्दै सांसद् चाैधरीले गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताउनुभयाे ।
एमाले सांसद् खेमप्रसाद लाेहनीले पनि एक सातामा ६ बढी जगन्य अपराधका घटना बढेका बताउनुभयाे । यसमा सरकारले ध्यान दिन नसकेकाे भन्दै उहाँले बर्दियामा प्रहरीकाे गाेलीबाट सविना चाैधरीकाे हत्या भएकाे र ११ जना गम्भीर घाइते भएका बताउनुभयाे । सरकारले गाेली नचलाएकाे बताउँदै उहाँले प्रश्न गर्नुभयाे - 'सरकारले गाेली नचलाए कसले चलायाे त,हत्यारालाई कारबाही र घाइतेहरुलाई उपचार गर्नुपर्छ ?' हत्या र हिंसाका घटना दिनहुँ बढ्दै गएपनि यसतर्फ सरकारकाे ध्यान नगएकाे बताउनुभयाे ।
सांसद् अमृता थापाले पनि बालिका र किशाेरीले बाँच्न पाउने वातावरण बनाउन सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । इहटरी १६ की १५ वर्षीय किशाेरीलाई धामीले अक्षता फुकाउने नाममा लगेकाे र अहिलेसम्म अज्ञात रहेकाे भन्दै उहाँले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । पीडित पक्षकाे जाहेरी समेत लिन नमानिएकाे भन्दै उहाँकाे यसमा ध्यान दिन माग गर्नुभयाे ।
