काठमाडाैं । सरकारले पुँजी बजारमा देखिएका समस्या समाधानका लागि सुझाव समिति गठन गरेकाे छ ।
नेपाल धितोपत्र बोर्डको ३०औं वार्षिकोत्सव समारोहलाई बुधबार काठमाडौंमा सम्बाेधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारमा देखिएका समस्या समाधानका लागि ४ सदस्यीय सुझाव समिति गठन गरिएकाे जानकारी दिनुभयाे ।
धितोपत्र र पुँजी बजार क्षेत्रमा देखिएको विविध समस्यामा समाधान गर्नका लागि बुधबार नै सुझाव समिति गठन गरिएको अर्थमन्त्रीले जानकारी दिनुभयो । अर्थ मन्त्रालय, राष्ट्र बैंक र धितोपत्र बोर्डको सहभागीतामा चार सदस्यीय सुझाव समिति गठन गरिएको उहाँले बताउनुभयो ।
समितिले दिएको सुझावका आधारमा सुधारका काम सुरु गर्ने भन्दै अर्थमन्त्री शर्माले आफूले नेतृत्व सम्हालेदेखि धितोपत्र बजार देखिएका समस्या पहिचान गर्दै सुदृढ गर्ने काम भएको बताउनुभयाे ।
नयाँ प्रविधिलाई भित्राउनुपर्ने भन्दै उहाँले लगानीकर्ताको हित संरक्षणका लागि नियमनकारी संस्थाको क्षमता अभिवृद्धि गर्नुपर्ने बताउनुभयाे । स्वचालीत कारोवार प्रणालीलाई बिश्वनियता बनाउनुपर्ने र सहज रुपमा कारोवारको अवस्था सिर्जना गर्नुपर्ने उहाँकाे भनाइ छ ।
