काठमाडाैं । नेकपा एमालेका सांसद गोकुल प्रसाद बास्कोटाले सञ्चार मन्त्रालयका लागि छुट्याइएकाे बजेट चरम दुरुपयाेगका लागि आएकाे बताउनुभएकाे छ ।
बुधबार प्रतिनिधि सभामा सञ्चार मन्त्रालयको विनियोजन बजेटमाथि खर्च कटौती प्रस्ताव पेस गर्दै सांसद् बास्काेटाले त्यसाे भन्नुभएकाे हाे । केपी ओली नेतृत्वकाे एमाले सरकारले अगाडि बढाइसकेका कार्यक्रमलाई अध्ययनका नाममा लापरबाही गर्न खाेजिएकाे उहाँकाे भनाइ छ ।
सञ्चारका लागि विनियाेजित बजेटका कुनैपनि शीर्षक प्राथमिकता दिएर अगाडि बढाउनुपर्ने नभएका बताउनुभयाे । सञ्चार मन्त्रालयले आवश्यकता अनुसार खर्च गर्ने शीर्षकमा २ ठाउँमा ५-५ करोड छुट्याइएको भन्दै उहाँले नीति तथा कार्यक्रममार्फत नै दुरुपयोग संस्थागत गरिएको बताउनुभयाे । पूर्व सञ्चारमन्त्री समेत रहनुभएका बास्काेटाले पत्रकारकाे पेशागत सुरक्षा र आर्थिक सुरक्षाका कुरा कुनै शीर्षकमा उल्लेख नगरिएकाे बताउनुभयाे ।
अघिल्लाे सरकार डिजिटाइजेसनकाे कुरामा डिजिटल नेपालकाे फ्रेमवर्क अगाडि बढाएकाे उहाँले बताउनुभयाे । त्यसका लागि विश्व बैंकले समेत २० औं अर्ब सहयाेग गर्ने बताएकाे सुनाउँदै उहाँले प्रश्न गर्नुभयाे - 'आज त्याे कहाँ पुग्याे ? थाहा छैन ।' डिजिटाइजेसनले जीडीपीमा याेगदान गर्ने भन्दै उहाँले चीनमा १० प्रतिशत, अमेरिकामा १२ प्रतिशत र काेरियामा पनि त्यस्तै रहेकाे बताउनुभयाे । सांसद् बास्काेटाले भन्नुभयाे - 'तर हाम्राेमा यसका पूर्वाधार निर्माणसम्बन्धी सूचना महामार्ग निर्माण कहाँ पुग्याे ? यसमा केही पनि उल्लेख छैन ।'
हस्कारालाई एनराेड माेबाइल सेट उपलब्ध गराइने उल्लेख गरिएकाे बताउँदै उहाँले प्रश्न गर्नुभयाे - 'कति जना हल्कारा छन् याे देशमा ?' सञ्चार शिविरका नाममा राखिएको बजेट अनावश्यक भएको बताउँदै उहाँले भन्नुभयाे - 'सञ्चार मन्त्रालयको घुम्ती शिविर छ, बरु दारु शिविर राखे हुन्छ, प्रष्ट छ कुरा त्यसका निम्ति बजेट छुट्याइएकाे छ, के आखाँको घुम्ती शिविर ? स्वास्थ्य मन्त्रालयको भए पनि हुन्थ्यो, कानको ? के को निम्ति हो ? मैले केही पनि बुझ्न सकेको छैन ।'
नेपालकाे जमिनकाे सार्वभाैमसत्ता मात्र नभएर स्पेश आकाशकाे पनि सार्वभाैमसत्ता हुने भन्दै बास्काेटाले ०७३ हाम्राे आकाश लाहाेसले खाेसिरहँदा केपी ओली सरकारले फिर्ता ल्याएकाे स्मरण गर्नुभयाे । उहाँले भन्नुभयाे - 'तर हाम्राे अर्विटल स्लट छ ५० डिग्री र १ सय २३ दशमलव २ डिग्रीकाे, (नेपालले अन्तरिक्षमा पाएको आफ्नो क्षेत्र), हाम्राे स्याटलाइट बनाउने त भनिएकाे छ,कानुन खाेइ ? मन्त्रालय बेखबर छ, म भन्न चाहान्छु- हामीले प्राप्त गरेकाे अर्विटल स्लटकाे सुरक्षा हाेस् र पहिला कानुन बनाइयाेस्,स्पेस पाेलिसी नेपालकाे बनाइसकिएकाे छ,त्यसकाे निम्ति थप अध्ययन गर्न ९९ कराेड छुट्याइएकाे छ ।'
डाटा सेन्टरका लागि हेटाैंडा र केन्द्रलाई भनेर बजेट छुट्याएर चरम दुरुपयाेगका लागि पूरै झ्याल ढाेका बन्द गरेर नीति तथा कार्यक्रममार्फत संस्थागत गर्न खाेजिएकाे भन्दै उहाँले कडा आपत्ति जनाउनुभयाे ।
डेण्डरविद् नियुक्त गर्ने कुरा उल्लेख गरिएकाे भन्दै उहाँले त्याे विधिकाे सर्वाेच्चता विरुद्ध रहेकाे बताउनुभयाे । 'टेण्डरविद् नियुक्त गर्ने,ठेकदारविद् पनि नियुक्त गरे भइगाे नि, त्याे पनि त खल्तीमै हाेला, राणा छन् कि, शाह छ कि, कार्की छन् कि खाेजे भाे नि याे क्षेत्रमा बिजनेस गर्ने,याे विधिकाे शासन रहने, कानुनकाे सर्वाेच्चता रहेन,गठबन्धनकाे सर्वाेच्चतामा चल्न खाेजिएकाे छ '- उहाँले भन्नुभयाे ।
अर्थमन्त्री जनार्दन शर्माले सरकारी कार्यालयका लागि सवारी साधन खरिद नगर्ने घोषणा गरिरहेका बेला सञ्चार मन्त्रालयको विनियोजित बजेटमा मोटरसाइकल र स्कुटर खरिद गर्ने उल्लेख रहेकोमा उहाँले आपत्ति जनाउनुभयाे । बास्काेटाले प्रश्न गर्नुभयाे - 'बजेट वक्तव्यमा भनियो कि यो वर्ष कुनैपनि सरकारी निकायमा नयाँ सवारी साधन खरीद गरिने छैन, तर सञ्चार मन्त्रालयले आफ्नो विनियोजनको सुरूमै ४ वटा मोटरसाइकल र ७ वटा स्कुटर किन्ने भनेर उल्लेख गरेको छ, यस्तो देखियो कि अर्थमन्त्री झूठ हो की सञ्चारमन्त्री झूठ हो, कि अर्थमन्त्रालयले बजेटमा ल्याएको प्रस्तावलाई सञ्चार मन्त्रालयले नै 'कोल्याप्स' हान्याे ?'
विज्ञापन कानुन बनिसकेकाे भन्दै उहाँले प्रश्न गर्नुभयाे - 'सञ्चारमन्त्री कुन कानुनकाे कुरा गर्दै हुनुहुन्छ ?' छाप्नुपर्ने कुरा विदेशमा छापिसकेपछि अब सेक्युरिटी प्रिन्टिङ प्रेसको आवश्यता नहुने बताउँदै उहाँले भन्नुभयाे - 'यो सरकारले सेक्युरिटी प्रिन्टिङ प्रेसलाई एक अर्ब छुट्याएको छ, सबै कुरा सिद्धिएपछि सेतो हात्ती बनाउन त्यो चाहिँदैन, इम्बोस्ड नम्बरदेखि सबै कुरा छापिसकेपछि त्यो किन चाहियो ?'
सञ्चार मन्त्रालयको बजेट विनियोजन सञ्चार मन्त्रीले नबनाएको दाबी गर्दै बास्कोटाले विनियोजनका प्रत्येक बुँदामा झूठको पुलिन्दा भएकाे बताउनुभयाे । उहाँले सञ्चार मन्त्रालयकाे खर्च एक रुपैयाँ मात्रै कायम गरे पुग्ने बताउनुभयाे । डिजीटाइजेसनकाे जमानामा सञ्चार मन्त्रालय जंगली युगतिर गइरहेकाे बताउनुभयाे ।
