काठमाडाैं । राष्ट्रिय सभा सदस्य भगवति न्याैपानेले नेपालकाे परराष्ट्र नीतिकाे बारेमा गठबन्धन सरकारमा विचलन देखिएकाे बताउनुभएकाे छ ।
बुधबार बसेकाे राष्ट्रिय सभा बैठककाे विशेष समयमा बाेल्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेकी सांसद् न्याैपानेले विदेश नीतिकाे बारेमा सरकारकाे स्पष्ट धारणा नरहेकाे बताउनुभयाे । शेरबहादुर देउवा नेतृत्वकाे गठबन्धन कुनै देशप्रति लम्पसार र कुनै देशप्रति चिड्डिनेगरी प्रस्तुत उहाँकाे भनाइ छ ।
केपी ओली नेतृत्वकाे सरकार छँदा नेपालकाे अन्तर्राष्ट्रिय सम्बन्ध र परराष्ट्र नीतिका सन्दर्भमा स्पष्ट धारणामा रहेकाे न्याैपानेले स्मरण गर्नुभयाे । ओली सरकार अन्तर्राष्ट्रिय सम्बन्ध र नेपालकाे परराष्ट्र नीतिमा अडिग रहेर सबैसँग त्यही अनुसारकाे सुसम्बन्ध राखेकाे तर देउवा सरकारले त्यसमा वेवास्ता गरिरहेकाे उहाँले बताउनुभयाे ।
'राष्ट्रिय स्वाभिमानलाई उचाइमा पुर्याउनेगरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली जसरी प्रस्तुत हुनुभएकाे थियाे, त्यतिखेर राष्ट्रिय स्वाभिमानलाई उठाउने काम भएकाे थियाे र राष्ट्रिय प्रतिष्ठालाई उठाउने काम भएकाे थियाे, तर आज सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा परराष्ट्र नीतिबारेमा विचलित हुनुहुन्छ, याे धेरै डरलाग्दाे कुरा हाे ।'
घरेलु नीतिमाथि छलफल र ऋटि भए परिमार्जन गर्न सकिने भन्दै उहाँले परराष्ट्र नीतिमा कमजाेरी भए त्यसले दीर्घकालीन असर पुर्याउने भन्दै भगवतीले निक्कै डरलाग्दाे चित्र अहिले देखिएकाे बताउनुभयाे ।
परराष्ट्र नीतिकाे बारेमा राष्ट्रिय एकता हुनुपर्ने भन्दै उहाँले गठबन्धन सरकार प्रतिपक्षकाे सुझाव लिन तयार नभएकाे बताउनुभयाे । नेपालकाे असंलग्न परराष्ट्र नीतिलाई आत्मसाथ गरेर साेही ढंगले प्रस्तुत हुनुपर्ने भन्दै उहाँले यसमा एमाले प्रष्ट रहेकाे बताउनुभयाे ।
नेपालकाे विदेश नीति सन्तुलित नीति रहेकाे बताउँदै न्याैपानेले भन्नुभयाे - 'हामी सबै देशसँग समदूरीकाे सम्बन्ध कायम गर्न चाहान्छाैं, सबै देशसँग मित्रवत् सम्बन्ध कायम गर्न चाहान्छाैं, भारत र चाइनालाई प्राथमिकता राख्छाैं ती हाम्रा छिमेकी हुन् ।'
गठबन्धन सरकार चाइनालाई चिड्याउनेगरी प्रस्तुत भएकाेमा उहाँले आपत्ति जनाउनुभयाे । 'तर चाइनालाई चिड्याउनेगरी याे सरकार प्रस्तुत भएकाे छ,अमेरिकी विदेश उपमन्त्री आउँदा सरकारले तिब्बती शरणार्थी शिविरमा जान दियाे'-न्याैपानेकाे भनाइ छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सत्यमेव जयते कि सिंह मेव जयते भन्दै नेपालकाे संसद्बाट सबैले सुन्नेगरी बाेल्नुभएकाे स्मरण गर्दै उहाँले अहिलेकाे सरकार भारतीय ज्याजती विरुद्ध बाेल्न नसकेकाे बताउनुभयाे । भारतीय एसएसबीले तुइन काटिदिँदा दार्चुलाका जयसिंह धामी वेपत्ता प्रकरणमा गठबन्धन सरकार भारतसँग नबाेलेकाे उहाँले बताउनुभयाे । नेपालकाे भूमि फिर्ता ल्याउने विषयमा समेत याे सरकार नबाेलेकाे भन्दै उहाँले आपत्ति जनाउनुभयाे ।
युक्रेन र रुसकाे विषयमा कुनै एउटा देशकाे पक्षमा विज्ञप्ति निकाल्न र राष्ट्र संघमा एउटा देशकाे पक्षमा मतदान गर्न आवश्यक थियाे कि थिएन भन्ने कुरामा पनि प्रष्ट पार्न उहाँले परराष्ट्र मन्त्री डा.नारायण खड्काकाे ध्यानाकर्षण गराउनुभयाे । नेपालकाे परराष्ट्र नीतिबारे सरकारकाे धारणा सदनबाट स्पष्ट पार्न पनि परराष्ट्रमन्त्रीकाे ध्यानाकर्षण गराउनुभयाे ।
एमसीसीलाई गिजाेल्नु गिजाेलेर केपी ओलीलाई दाेष दिँदै दाेहाेराे चरित्र देखाएर पास गरिएकाे पनि उहाँले बताउनुभयाे ।
