काठमाडौं । नेपाली कांग्रेसका सांसद् गगन थापाले मल ल्याउन सरकार असफल भइसकेकाे बताउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा बजेटमाथिकाे मन्त्रालयगत छलफलमा भाग लिँदै सांसद् थापाले समयमा मल ल्याउन सरकार असफल भएकाे बताउनुभयाे । सरकार र मन्त्री फेरिएपछि मलको कथा सधैं उस्तै भएको थापाकाे भनाइ छ ।
सीमा क्षेत्रका नागरिकले भारतबाट ल्याएको मल खोसेर बहादुरी नदेखाउन समेत उहाँले सरकारलाई आग्रह गर्नुभयाे । 'वक्तव्य आउँछ,मल आउँदैन, अब राेएका किसानकाे फाेटाे आउँछ,अनि हामी केही गर्न नसकेपछि सिमाना पारिबाट मल ल्याउनेलाई लाठ्ठीले ठाेकेर मल खाेसेर बहादुरी देखाउँछाैं, वर्षाैंदेखिकाे मलकाे चक्र ताेड्न चुक्याैं,पैसा छ मल आउँदैन, त्यसैले मलमा हामी सामूहिक रुपमा असफल भयौँ' - थापाकाे भनाइ छ । मल कारखाना पनि माैसमी गफ जस्ताे भएकाे उहाँले बताउनुभयाे ।
कृषिमा उत्पादन बढाउनुपर्ने भन्दै उहाँले त्यसका लागि मल नै आधारभूत आवश्यकता भएकाे उहाँले बताउनुभयाे । 'चीनमा करिब ३८४ केजी प्रतिहेक्टर र भारतमा १७५ केजी प्रतिहेक्टर प्रयोग हुँदै गर्दा नेपाल ८७ केजी प्रतिहेक्टर प्रयोग हुन्छ, प्राविधिक हिसाबले १२ लाख ९७ हजार मेट्रिक टन हो, तर अहिले अत्यावश्यक हिसाबले चाहिने ५ लाख ३० हजार मेट्रिक ट्रन हाे, जेठ र असारमा २ देखि ३ मेट्रिकटन आवश्यक पर्छ, आज मात्रै कृषि मन्त्रालयले निकालेको असार मसान्तसम्ममा १ लाख ९२ हजार मेट्रिकटन मल आउँछ भनेर तर आउँदैन, आउन सक्दै सक्दैन'-थापाकाे भनाइ छ ।
किसानका आसुले पाेल्ने बताउँदै उहाँले भन्नुभयाे - 'हामीले आम नागरिकलाई मल दिन्छाैं भनेर आएका छाैं, प्रत्येक चाेटि चुक्छाैं, लज्जावाेध हुनुपर्याे,अप्ठेराे लाग्याे,हामीले स्वीकार्नुपर्छ,काम गर्ने तरिका बदल्नुपर्छ,किसानकाे आुँसले पाेल्छ ।'
मलको दिगो व्यवस्थापनमा ध्यान दिनुपर्ने भन्दै उहाँले आवश्यक संरचनाका लागि माैसममा नभएर त्यसअघि नै काम थाल्नुपर्ने बताउनुभयाे । बजेटले कृषिलाई उच्च प्राथमिकतामा राखेर बजेट छुट्याएपनि मल नै नपाएपछि त्यसकाे अर्थ राम्राे नलाग्ने बताउनुभयाे ।
