काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ ।
बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संघीय संसद् सचिवालयले जनाएको छ । आज अर्थ, रक्षा र शिक्षा र खानेपानी मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
आजकाे बैठकमा सांसद् प्रेम सुवालले 'विनियोजन विधेयक, २०७९ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाईयोस्' भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
सांसद् दुर्गा पौडेलले 'विनियोजन विधेयक, २०७९ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय र अर्थ मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाईयोस्' भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
सांसद् डा. सूर्य प्रसाद पाठकले 'विनियोजन विधेयक, २०७९ अन्तर्गत खानेपानी मन्त्रालय मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस्' भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
