काठमाडौं । नेकपा एमालेकी सांसद् पद्मा अर्यालले देशकाे सबैभन्दा ठूलाे र जेठो विश्वविद्यालय पाँच महिनादेखि बन्द रहँदा सरकार माैन रहेकाे भन्दै आपत्ति जनाउनुभएकाे छ ।
प्रधानमन्त्री कुलपति, शिक्षामन्त्री सहकुलपति रहेको त्रिभुवन विश्वविद्यालय पाँच महिनादेखि बन्द हुँदा सरकार रमिते बनेकाे अर्यालले बताउनुभयाे । 'प्रधानमन्त्री कुलपति, शिक्षामन्त्री सहकुलपति रहेको विश्वविद्यालय यति लामाे समयसम्म बन्द हुँदा वार्ता गरेर खाेल्नु पर्दैन ? उहाँहरु किन रमिते बनेर बस्नुभएकाे छ ? यसकाे जवाफ चाहान्छु'- उहाँले भन्नुभयाे ।
गृहमन्त्री बालकृष्ण खाँडकाे निर्देशनमा ताला लगाइएको समेत उहाँले बताउनुभयाे । सांसद् अर्यालले भन्नुभयाे - 'देशको सबैभन्दा ठूलो र जेठो विश्वविद्यालय विगत पाँच महिनादेखि बन्द छ, बारम्बार सदनमा विषय उठेकै छन्, तर पनि सरकारको ध्यान जान सकेको छैन, बीचमा एकदिन खुलेर फेरि गृहमन्त्रीको निर्देशनमा प्रहरी साँची राखेर विश्वविद्यालय बन्द गर्ने काम भएको भन्ने सुनिएको छ, गृहमन्त्रीको काम बन्द खुलाउने हो कि बन्द गर्ने हो ।'
नेविसंघले त्रिविमा माघ ७ देखि तालाबन्दी गरेको थियो ।
