काठमाडौं । नेकपा एमालेकी सांसद् पवित्रा निरौला खरेलले सांसद् र मन्त्रीहरुमा विभेद गरिएकाे भन्दै कडा आपत्ति जनाउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् खरेलले प्रधानमन्त्री, मन्त्री र पहुँचवालाहरुकाे क्षेत्रमा याेजना थाेपर्ने तर सांसद्हरुकाे क्षेत्रमा याेजना नै नपर्ने बताउनुभयाे । मन्त्री काम गर्न र बाँकी सांसद् ताली बजाउन मात्रै आएका हुन् ? भन्दै उहाँले प्रश्न उठाउनुभयाे ।
सबै मिलेर व्यवस्था परिवर्तन गरेपनि अवस्था उस्तै रहेकाे सांसद् खरेलले बताउनुभयाे । 'प्रधानमन्त्री, मन्त्री र पहुँचवाला माननीयज्यूहरुको क्षेत्रमा ९०-९५ देखि १ सय ७ वटासम्म योजना पर्छ, तर हाम्रो क्षेत्रमा एउटा दुइटा योजना खोज्न धौ धौ पर्छ, के मन्त्रीज्यूहरू मात्र चुनाव लडेर आउनुभएको हो ? हामी बाँकी सांसद हावाबाट उठेर आएका हौँ ? उहाँहरू मात्रै जनताको काम गर्न आउनुभएको हो, हामी ताली ठोक्न मात्र आएका हौँ ?' यो परम्परा परिवर्तन हुन्छ कि हुँदैन सरकार ? जवाफ चाहियो'-उहाँले भन्नुभयाे ।
